मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बढिरहेको रणनीतिक साझेदारीलाई प्राथमिकतामा राखि नेपालमा चीनले ठूलो लगानी बढाइदिओस्’

अध्यक्ष लीले नेपालले आफ्नो प्राथमिकता आफैं निर्धारण गर्नुपर्ने बताए



काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुई मुलुकबीच बढिरहेको रणनीतिक साझेदारीलाई प्राथमिकतामा राखि नेपालमा चीनले ठूलो लगानी बढाइदिओस् भन्ने चाहना रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँगको द्विपक्षीय प्रतिनिधिमण्डल संवादका दौरान अध्यक्ष दाहालले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई राष्ट्रपति सी चिनफिङको भ्रमणले थप उचाइमा पुर्‍याएको बताएका थिए ।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार अध्यक्ष दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत राणनीतिक साझेदारी गरेको र उक्त साझेदारी नेपालको विकास र समृद्धिमा चीन सरकारले सहयोग गर्नुपर्ने बताए ।

‘नेपाल–चीनबीच जुन रणनीतिक साझेदारी अघि बढिरहेको छ, नेपालको प्राथमिकता निर्धारण गरेर अलि ठूलो मात्राको लगानी नेपालमा बढाइदिनु पर्‍यो,’ अध्यक्ष दाहाललाई उदृत गर्दै मल्लले भने । साथै, दाहालले अध्यक्ष लीलाई नाकाहरु खुलाउनुको लागि पनि आग्रह गरे । दाहालले नेपालमा चीन सरकारबाट भइरहेका विकास निर्माणको कार्यक्रम छिटोछिटो गर्नको लागि पनि आग्रह गरे । दाहालले चीनसँग नेपालको व्यापार असन्तुलन भएको पनि उल्लेख गरे । उक्त संवादमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उर्जामन्त्री पम्फा भूसाललगायत उपस्थित रहेका थिए ।

जवाफमा चिनियाँ अध्यक्ष लीले नेपालको आर्थिक विकास र समृद्धिमा सधैं सहयोग गर्ने वाचा गरेका थिए । लीले नेपालले आफ्नो प्राथमिकता आफैं निर्धारण गर्नुपर्ने पनि बताए । अध्यक्ष लीले भने, ‘हामी मार्क्सवादीहरु हौं । विश्वमा हाम्रो एउटै भावनात्मक सम्बन्ध रहेको छ ।’

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : ०६ बजे