मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले नेता राजेन्द्र राईले दिए प्रमुख प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की




१४ असोज, काठमाडौं ।
नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन्। प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार दिउँसो पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

आफूहरुलाई हेप्ने गरेको भन्दै राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियोमा सुन्न सकिन्छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्रै पौडेलले पनि बचाउन नसक्ने पौडेललाई राईको चेतावनी छ ।

उनी यत्तिमै रोकिएका छैन् । ‘तपाईं जति मान्छे कति झुण्डाएर हान्देको छु थाहा छ ? हान्न बाँकी छ, तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो,’ उनले भनेका छन् । धनकुटा छोडेर नगए देखाइदिने राईको चेतावनी छ । राईले ज्यान मार्ने धम्की दिएपछि पौडेलले सरकारका निकायसँग सुरक्षा माग गरेका छन्।

यस्तो छ पौडेल र राईको अडियोमा वार्ता

पौडेलः माननीयज्यू नमस्कार

राईः तपाईं आएर मेरो ठाउँमा तपाईं शासन गर्ने ?

पौडेल: के भएछ हजुर ?

राईः तपाईंलाई फेरि ठिक लाइदिन्छु नि चुनावमा फेरि। तपाईं ख्याल गर्नुहोला, तपाईंले एकदम हेप्नुभएको छ हामीलाई। नहेप्नु नि। तपाईं खुरुक्क जानू यहाँ मसँग अरु डबल कुरा नगर्नू। तपाईंलाई मैले भनिदिएको छु नि, तपाईंको अस्तित्व म समाप्त पारिदिन्छु नि। कम अत्याचार गर्नुभएको छ तपाईंले त्यहाँ। तर म हेर्दैछु, तपाईंलाई कसैले जोगाउन सक्दैन्। तपाईंको शेरबहादुर देउवा, रामचन्द्र पौडेल जो आएपनि जोगाउन सक्दैन। तपाईंलाई मैले भनिदिएको छु, खुरुक्क जाने अब। अर्को कुनै घटना घट्यो भने मलाई नभन्नु। तपाईं दुनियाँ ठाउँमा दादागिरी चलाउने ?

पौडेलः के गरेँ मैले भन्नु न त ?

राई: तपाईं जति मान्छे कति झुण्डाएर हान्देको छु थाहा छ ? हान्न बाँकी छ, तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो।

पौडेलः हैन मैले के गरेँ, माननीय ज्यू ?

राईः तपाईं खुरुक्क जानुस्, तपाईं मेरो ठाउँमा आएर फूर्ति लगाउने ? किन फूर्ति लगाउने? म देखाइदिन्छु।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ३ : २८ बजे