मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिन्जो आबेको सरकारी अन्त्यष्टिको विरोधमा जापानमा एक वृद्धले आफैँलाई आगो लगाए



५असोज,काठमान्डौँ । एक जना जापानी पुरुषले देशको प्रधानमन्त्री कार्यालय नजिक आत्मदाहको प्रयास गरेका छन् । जापानी सरकारी टेलिभिजन एनएचकेले ७० वर्षमाथिका ती व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताएको छ ।‘आज विहान सात बजेअघि एक जना पुरुष देशको क्याबिनेट अफिस बाहिर जलेको सुनेको छु । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेकोबारे पनि म अबगत छु,’ जापान सरकारका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बुधबार भने ।

अग्नीदाह गर्ने व्यक्तिले ‘पूर्व प्रधानमन्त्री शिन्जो आबेको सरकारी अन्त्यष्टिको योजनाको विरोधमा उक्त कार्य गरेको’ बताएको आशाही टिभीले बताएको छ । प्रहरीले अहिले सीसीटीभी क्यामेरा र प्रत्यक्षदर्शीहरुबाट घटनाको प्रमाण जुटाईरहेको छ ।जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका शिन्जो आबे सन् २००६ देखि २००७ मा पहिलो पटक र सन् २०१२ देखि २०२० सम्म शासनमा रहेका थिए ।उनले सन् २०२० मा कमजोर स्वास्थ्यको कारण राजीनामा दिएका थिए ।तर यही वर्ष ६७ वर्षको उमेरमा एक जना बन्दुकधारीले उनको हत्या गरिदिए । गोली प्रहार हुदाँ आबे राजनीतिक भाषण गरिरहेका थिए । जापान सरकारले आबेको सम्झनामा सेप्टेम्बर २७ मा राजकीय अन्त्यष्टि कार्यक्रम गर्दैछ । यसमा झण्डै १.२ करोड डलर लाग्ने प्रक्षेपण छ । खर्च मुख्यत विदेशी पाहुनाहरुको सुरक्षा र स्वागत सत्कारमा खर्च हुनेछ ।

आबेको अन्तिम संस्कार परिवारले जुलाई १५ मा गरिसकेका छन् । जापानको सरकारले आबेलाई अब राजकीय सम्मानसहित अन्तिम बिदाई गर्नेछ । आबेलाई प्रतिकात्मक रुपमा बिदाई गरिनेछ । आबेको नीजि अन्त्येष्टिमा राट्राध्यक्ष समावेश हुन नपाएका कारण प्रतिकात्मक बिदाईको आयोजना गर्न लागिएको हो । तर देशभित्र ठूलो जमातले अन्त्यष्टिको विरोध गरिरहेका छन् । आलोचकहरुमध्ये केहीले राज्य कोषको फजुल खर्चमा विरोध जनाएका छन् । अन्य आलोचकले भने आबे विभाजित राजनीतिज्ञ भएकाले उनको सम्मानमा राज्य कोष प्रयोग गर्न नहुने तर्क गरिरहेका छन् ।जापानमा राजकीय अन्त्यष्टि विशेषत शाही परिवारका सदस्यलाई मात्र गरिन्छ । सन् १९६७ मा एक पटकका लागि मात्र प्रधानमन्त्री शिगेरु योशिदाको अन्त्यष्टि पूर्णत राज्य खर्चमा गरिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ०१ बजे