मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाका मन्त्री हटाउन बालुवाटारमा गठबन्धनबीच छलफल




२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का मन्त्री हटाउन दबाब बढेको छ । सत्ता गठबन्धनमा रहेको जसपा मंसिरको निर्वाचनमा एमालेसँग तालमेल गर्न पुगेपछि सत्तारुढ दलबाटै जसपाका मन्त्रीहरू हटाउन प्रधानमन्त्री देउवामाथि दबाब बढेको हो ।

सरकारमा रहेर एमालेसँग चुनावी तालमेल गरेको भन्दै सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवासँग आन्तरिक छलफल गरेसँगै देउवाले गठबन्धन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा जसपाका मन्त्री हटाउने कि विना विभागीय बनाउने भन्नेबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । ‘जसपाका मन्त्री र बागीबारे छलफल भइरहेको छ’, ती नेताको भनाइ छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मंगलबार बिहान जसपाका मन्त्रीबारे स्वाभाविक रूपमा प्रश्न उठेको भन्दै त्यसबारे बैठकमा छलफल हुने बताएका थिए ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव मन्त्री छन् । उनीहरूलाई जसपाले गत असारमा सरकारमा पठाएको हो ।त्यसअघि देउवाले जसपाका मन्त्री हटाउने वा विना विभागीय बनाउने भन्नेबारे आफू निकट कानुन व्यवसायीहरूसँग समेत छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले मागेजति सिट नदिएको भन्दै अन्तिम अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : ५१ बजे