मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिङ्देनविरुद्ध उम्मेदवारी दिएका एमाले नेता गिरी मोबाइल अफ गरेर बेपत्ता




२६ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका विरुद्धमा उम्मेदवारी दिएका एमाले नेता डम्बर बहादुर गिरीले उम्मेदवारी कायमै राखेका छन् । झापामा एमाले र राप्रपाबीच गठबन्धन छ । गठबन्धन हुँदा एमालेले ३ नम्बर क्षेत्र राप्रपा अध्यक्ष लिङ्देनका लागि छोडेको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ मा राप्रपाले सघाउने सहमति भएको थियो ।

तर, गिरीले उम्मेदवारी दर्ता गराएलगत्तै मोबाइल अफ गरेर बेपत्ता भएपछि उनको उम्मेदवारी फिर्ता भएन । राप्रपा झापाका अध्यक्ष केशव ओझाका अनुसार गिरी भारततिर लागेका छन् । ‘एमाले नेता गिरीको उम्मेदवारी फिर्ता भएन,’ ओझाले भने, ‘मोबाइल अफ गरेर भारततिर लागेको भन्ने खबर आएको छ ।’ ओझाले उनको उम्मेदवारीले आफूहरुलाई खासै असर नपर्ने बताएका छन् ।

गिरी एमालेका प्रदेश १ कमिटी सदस्य तथा स्थानीय तह निर्वाचनमा हल्दीबारी गाउँपालिकाको अध्यक्षमा पराजित उम्मेदवार हुन् । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बनेका छन् । गिरीको उम्मेदवारीले सिटौलालाई फाइदा हुने सत्ता पक्षका एक नेताले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : ३५ बजे