मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहारको झिलिमिली बत्ती आयातमा समस्या




२८ असोज, काठमाडौं ।
विद्युतीय सामग्रीको बिक्री वितरण गर्ने व्यवसायीहरुले यस वर्षको तिहारमा सजावटका विद्युतीय बत्तीको अभाव हुनसक्ने बताएका छन् । नेपाल सरकारले यस्ता सामान आयातमा गरेको कडाइ र निर्माता मुलुकले उत्पादन र पैठारीमा गरेको विलम्बका कारण यस्तो समस्या हुनसक्ने देखिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । राष्ट्र बैंकले विद्युतीय वस्तु आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दा धेरै व्यवसायी त्यस्ता वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको संघका अध्यक्ष सुदर्शन पौडेलले बताए ।

आयात गर्न सक्ने व्यवसायीले गरेको सामानको माग पनि कोभिड-१९ का कारण चीनले लकडाउन गर्दा समयमै डेलिभरी नभएको उनको भनाइ छ । ‘गत वर्षभन्दा यो वर्ष यी वस्तुको आयात निकै घटेको छ,’ अध्यक्ष पौडेलले भने, ‘नगद मार्जिनका कारण व्यवसायी पनि आयात गर्न नसक्ने अवस्थामा छन् । आयात गर्नेको सामान पनि समयमै आउन सकेन ।’ चीनका केही भू-भागमा अझै पनि लकडाउन रहेका कारण एलसी खुलेका सामान पनि व्यवसायीले समयमा पाउन नसकेको उनले बताए । दशैंअघिलाई आइसक्नु पर्ने कतिपय विद्युतीय सामान अझै आइनसकेको महासंघले जनाएको छ । ‘तातोपानी र रसुवागढी नाका बन्द हुँदा कतिपय सामानहरु रि-रुट भएका छन् । केही अझै चीनका शहरमै छन्,’ पौडेलले भने, ‘मूल्य बढ्न सक्ने अवस्था त छैन, तर माग जति नपुग्ने चिन्ता भने छ ।’

कोभिड-१९ पछि निरन्तर आरोलो लागेको विद्युतीय सामग्रीको कारोबार अझै निरन्तर रहेको पनि महासंघले जनाएको छ । तिहारमा सजावटका लागि धेरै बिक्री हुने झलरी मालाबत्ती र उत्सव लाइटहरु गत वर्षको मात्रामा आयात नभएको महासंघका महासचिव कोमल पोख्रेल बताउँछन् । नयाँ घर बनाएर तिहारमा सर्ने, तिहारमा घर, कार्यालय र सडकमा झिलिमिली बनाउने वस्तु पर्याप्त मात्रामा नभएको उनको दावी छ । गत वर्ष तिहारमा यस्ता सामग्रीको व्यापार ३५ देखि ४० करोड रुपैयाँ हाराहारी रहेकामा यसपाली यस्तो हुने नदेखिएको पोख्रेल बताउँछन् । ‘व्यवसायीहरु अझै पनि जतिसक्दो आयात बढाउनेमा केन्द्रित छन् । हामी यी वस्तुको आयात र उपलब्धताका विवरणहरु अध्ययन गरिरहेका छौं,’ महासचिव पोख्रेल भन्छन्,’पुराना बत्ती बनाउन आउने र नयाँका खरिदका लागि बजार कसरी अघि बढ्छ भन्ने हेरिरहेका छौं ।’

यो वर्ष हालसम्म आयात भएका तिहार लक्षित उत्सव बत्तीबारे अझै विस्तृत विवरण आइनसकेको भन्सार विभागले जनाएको छ । गतवर्षसम्म क्रिसमस लाइटको रुपमा आयात हुने यस्ता वस्तुको यसवर्ष यकिन परिमाण नदेखिएको विभागले जनाएको छ । चालु आवको दुई महिनामा ४९ करोड ५० लाख ८८ हजार रुपैयाँ बराबरको ४८ लाख ५७ हजार ८९९ थान विद्युतीय उपकरण नेपाल भित्रिएका छन् । जसमा झिलिमिली बत्तीको विवरण छुट्ट्याइएको छैन । गत वर्ष समीक्षा अवधिमा ५१ करोड ७१ लाखको विद्युतीय सामग्री नेपाल आयात भएका थिए । आव २०७८र०७९ मा ३ अर्ब ३४ करोड ३५ लाख ५ हजार रुपैयाँको ३३ करोड ७ लाख १२ हजार ७७ थान विद्युतीय सामग्री आयात भएको थियो जसमा २ करोड ५८ लाख ९९ हजार रुपैयाँको झिलिमिली बत्ती मात्रै थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : १९ बजे