मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्पको समाजिक सञ्जाल ‘ट्रुथ सोसल’ अब गुगल प्ले स्टोरमा पनि भेटिने




काठमाडौं ।अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’को एपलाई ‘गुगल प्ले स्टोर’ले स्वीकृति दिएको छ । बुधबार गुगल आफैले यसको जानकारी दिएको हो । यस निर्णयपछि ‘ट्रूथ सोसल’ एन्ड्रोइड फोनहरूमा डाउनलोड गर्न सकिनेछ । ट्रुथ सोसलले थप मजबुत सामग्री मध्यस्थता नीतिहरू लागू गरेपछि गुगल एप स्टोरले यस्तो निर्णय लिएको हो । ​गुगलले यसअघि ‘ट्रुथ सोसल’ले हिंसा उक्साहट तथा धम्कीसम्बन्धी विषयलाई पूर्णतः सम्बोधन नगरेसम्म सो सामाजिक सञ्जालको एप उसको आधिकारिक एप स्टोरमा नदेखिने बताएको थियो ।

गुगलले उसको प्ले स्टोरमा रहेका सामाजिक सञ्जाल एपहरूले ‘आपत्तिजनक सामग्री’विरुद्ध रिपोर्ट गर्न सकिने एपभित्रै एक प्रणाली उपलब्ध गराउन पनि ट्रुथ सोसललाई भनेको थियो । विश्वका झण्डै ७५ प्रतिशत मोबाइल एन्ड्रोइड अपरेटिङ प्रणालीबाट चल्ने भएकाले गुगलको आधिकारिक एप स्टोर ‘गुगल प्ले स्टोर’मा नहुँदा ट्रुथ सोसलको विस्तारलाई असर गरिरहेको थियो । तथापि स्यामसङ ग्यालेक्सी स्टोरहरूमार्फत केही एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिन्थ्यो । बुधबार गुगलका प्रवक्ताले मिडियाहरूलाई बताए अनुसार अहिले ट्रुथ सोसलले हिंसा मत्थर बनाउने र आपत्तिजनक सामाग्रीहरूबारे रिपोर्ट गर्न भित्री प्रणालीको मापदण्ड पुरा गरेको बताएका छन् ।

‘हाम्रो प्रयोगकर्ता निर्देशिकाहरू पालना भएकाले एप अब गुगल प्ले स्टोरमा उपलब्ध हुनेछ ,’ गुगलका प्रवक्ताले भने ।​ ट्रुथ सोसलको नीति अनुसार अब जुन पोस्टहरूले हिंसाको लागि आह्वान गर्छन्, या त ती सामाग्री हटाइनेछ या त्यस्तो सामाग्री पोष्ट गर्नेको एकाउन्ट हटाइनेछ । सन् २०२१ जनवरी ६ मा अमेरिकाको संसद्‍मा भएको दङ्गापछि त्यसमा ट्रम्पको उक्साहटलाई जिम्मेवार देखाउँदै ट्वीटर, फेसबुक र युट्युबले उनलाई प्रतिबन्ध लगाए । सबै प्रमुख प्ल्याटफर्मको पहुँच गुमेको एक वर्षपछि ट्रम्पले सामाजिक सञ्जालमा उपस्थिति जनाउन उनको आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ खोलेका थिए ।ट्रम्पले उनले खोल्ने सामाजिक सञ्जालमा कुनै ‘सेन्सरसिप नहुने’ बताएका थिए । त्यही कुरालाई मध्यनजर गर्दै एपले भड्काउपूर्ण सामाग्री नियन्त्रणसम्बन्धी नीतिहरू अङ्गीकार गरेको थिएन ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : ३२ बजे