मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारोत्तोलनमा विद्या राईको कीर्तिमान



२ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनतर्फ नेपाल पुलिसकी विद्या राईले स्न्याचमा राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण जितेकी छिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार वहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार वहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए ।

एपीएफकी शिखा थापाले रजत र गण्डकीकी सिञ्जल गुरुङले कास्य पदक जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार वहन गरिन् भने गण्डकीलाई कांस्य दिलाउन सिञ्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाइन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो स्वर्ण पदक जितेको छ ।

पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा एपीएफकी निशा बलालले स्वर्ण पदक जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार वहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् । विभागीय टिमहरु नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब चम्किंदा एपीएफ मंगलबारसम्म ३ रजत र २ कांस्यमा सीमित थियो । बुधबार उसले स्वर्ण जित्दै पदक तालिकामा कुल पदक संख्या ६ बनाएको छ । प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ०० बजे