मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मलेसिया पठाउने भन्दै १९ जनाबाट ४१ लाख असुल्ने मेनपावर कम्पनीमा विभागको छापा




२ कात्तिक, काठमाडौं ।
प्रति कामदारबाट २ लाख ३० हजारका दरले पैसा असुल्ने मेन पावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै १९ जना कामदारबाट ४१ लाख ४३ हजार रूपैयाँ पैसा असुल्ने द रिभर ओभरसिज र देवान कन्सल्ट्यान्टमा विभागले छापा मारेको हो । छापा मारेर कामदारबाट लिएको पैसा फिर्ता गर्ने र उनीहरूलाई तोकिएकै समयमा उडान गराउने सहमति गराएको छ ।

कामदारबाट पैसा लिइरहेको भन्ने सूचनाको आधारमा विभागले छापा मारेको थियो । द रिभरले मलेसिया जान लागेका २० जना श्रमिकहरूलाई आफ्नो कम्पनीमार्फत पठाउन लागेको थियो । तर, त्यसका लागि श्रम स्वीकृति र भिसा देवान कन्सल्ट्यान्टमार्फत गरेको थियो । नियमअनुसार जुन कम्पनीले विदेश पठाउने सोही कम्पनीले भिसा र श्रम स्वीकृति गराउनुपर्छ । देवान कन्सल्ट्यान्टले भिसा र श्रम स्वीकृति लिई आजको उडान तालिका अनुसार उनीहरू विदेश पठाउने भनेको थियो । तर, त्यसको अघिल्लो दिन अर्थात १ कात्तिकमा विभागले छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।

विभागको टोली जाँदा उनीहरूलाई द रिभरको कार्यालयमा प्रस्थान पूर्वको जानकारी दिइरहेको थियो । त्यहाँ उपस्थित कामदारहरूसँग सोधपुछ तथा छलफल गर्दा १९ जना कामदारहरूबाट ४१ लाख ४३ हजार रूपैयाँ लिएको पाइएको विभागका निर्देशक तथा सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । दुवै मेनपावर व्यवसायीसँग छलफल गरेर कामदारहरूलाई तोकिएको समयमा उडाउन निर्देशन दिएको थियो । भने उनीहरूका आफन्तहरूलाई ३ दिनभित्रमा उक्त रकम फिर्ता गर्ने लिखित प्रतिवद्धता गराइएको निर्देशक भुसालले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : १४ बजे