मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलमा अटो रिक्साको उचित व्यवस्थापन हुन सकेन



३ कार्तिक ,काठमान्डौँ । बुटवलको व्यस्त बजारमा ई–रिक्सा (अटो रिक्सा) को उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा समस्या भएको छ । ई–रिक्साको व्यवस्थापन गर्न नसक्दा मुख्य सडक तथा राजमार्गमा चल्ने ठूला सवारी साधनलाई समेत सकस भएको छ । त्यस्तै पैदल यात्रीले समेत समस्या भोग्नु परेको छ । यसअघि ट्राफिक प्रहरीले बजारका सहायक सडकमा मात्र अटो रिक्सा चल्न दिने गरेको थियो । तर बुटवलको चौराहा–गोलपार्क सडक विस्तारको काम ढिलाई हुँदा अटो रिक्सा चालकले ट्राफिक नियम पालना गर्न छोडेका छन् । ई–रिक्सावालाले मनपरी सडक प्रयोग गरेर वारपार गर्दा आवागमनमा समस्या भएको हो ।

हरियाली यातायातका अध्यक्ष कृष्ण तिवारीले छिटो अटो रिक्साको ब्यवस्थापन मिलाउन आग्रह गरे । उपमहानगरपालिकाले अटो रिक्सा व्यवस्थापनमा ढिलाई गर्दा असहज वातावरण सृजना भएको गुनासो गरे । उनले अटो रिक्साको रुट तोकेर सोही अनुसार भए नभएको अनुगमन गरिनुपर्ने उल्लेख गरे । उपभोक्ता हित संरक्षण मन्च बुटवलका अध्यक्ष समुद्र जीसीले रातिको समयमा रिक्साले यात्रुहरुलाई मनपरी भाडा लिएर ठग्ने गरेको बताए । जथाभावी भाडा लिने गरेको भन्दै उनले अटो रिक्साहरूको निश्चित भाडादर तोकिनुपर्ने बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र भुसालले अटो रिक्साको उचित ब्यवस्थापन नहुँदा ठूला सवारी साधनलाई अप्ठेरो भएको उल्लेख गरे । बुटवलले अब नयाँ रिक्सा थेग्न नसक्ने भएकाले वैकल्पिक व्यवस्था बिना रिक्सा थप्न नहुने उनले बताए । टेरा मोटरका सञ्चालक ज्ञानप्रसाद बस्यालले अटो रिक्साको उचित ब्यवस्थापन नहुँदा स्वयं रिक्सा व्यवसायीलाई पनि असहज भएको बिचार ब्यक्त गरे ।

प्रादेशिक ट्राफिक प्रहरी कार्यालका प्रहरी बरिष्ठ नायब निरीक्षक शेषनारायण भारतीले रिक्सा चालक र ब्यवसायीलाई ट्राफिक नियम पालना गर्न र तोकिएको रुटमा मात्र यात्रा गर्न आग्रह गरे । अटो रिक्सा चालकले लापरवाही गर्दा अन्य यात्रुलाई असहज भएको उनले बताए । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले ई–रिक्सा व्यवस्थापनमा केही ढिलाई भएपनि अब उपमहानगरले यसको व्यवस्थापनको काम थाल्ने बताए । नयाँ मापदण्ड बनाएर अटो रिक्साको ब्यवस्थापनका काम थालिने उनको भनाई छ । उनले बुटवललाई स्वच्छ र सुन्दर बनाउने दायित्व सबैको भएकाले सबैको सहयोग आवश्यक हुने उल्लेख गरे । बुटवलमा करिब १४ सय अटो रिक्सा संचालनमा छन् । कतिपय बिना दर्ता संचालनमा छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १२ : ०९ बजे