मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदामा स्कूल खोलेको भन्दै नगरपालिकाले गरेको कारवाही शिक्षा विकासले उल्ट्यायो



३ कार्तिक ,काठमान्डौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा संघीय र स्थानीय कानून मान्ने विषयमा विवाद देखिएको छ । नगरपालिकाले सबै संस्थागत विद्यालयहरूसँग छलफल गरेर दशैं र दीपावलीको बीचको समयमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, वाणगंगा नगरपालिका–८ मा लौगाईमा रहेको कपिलवस्तु विद्या मन्दिरले उक्त निर्णयको अवज्ञा गर्दै विद्यालय खोलेको थियो ।

विद्यालय खोलेपछि नगरपालिकाले सूचना जारी गर्दै नगरले गरेको निर्णयलाई कार्यान्वयन गर्न भनेको थियो । उक्त निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कानून बमोजिम कारवाही गरिने बताएको थियो । कारवाहीको चेतावनीपछि कपिलवस्तु विद्या मन्दिरले शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिएको थियो । उक्त निवेदनपछि इकाइले नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गरे वापत विद्यालयलाई कारवाही गर्न मिल्ने कानून संघीय शिक्षा ऐन तथा नियमावलीमा कतै पनि व्यवस्था नभएको जनाएको थियो ।

नगरपालिकाले भने स्थानीय शिक्षा नियमावली अनुसार नै विद्यालयका गतिविधिहरू सञ्चालन हुने भन्दै भन्दै सोही अनुसार कारवाही हुने प्रष्ट पारेको छ । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खिमबहादुर जिसीले निर्णयको अवज्ञा गर्ने स्कुललाई वाणगंगा नगरपालिकाको शिक्षा ऐन २०७४ तथा शिक्षा नियमावली २०७४ अनुसार कारवाही गरिने बताए । ‘नियम कानून बनाउँदा सबै सरोकारवाला निकायसँग समन्वय तथा छलफल गरेर बनाइएको हो । नगरपालिकाले गरेको निर्णय म मान्दिन भन्न मिल्दैन’ उनले भने । बन्दको समयमा पनि विद्यालय खोल्ने स्कुललाई कालोसूचीमा राखेर नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्का गरिने उनको भनाई छ । तर, त्यसका लागि नगर शिक्षा समितिको बैठकबाट निर्णय गरिने बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : ४३ बजे