मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने, भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त



काठमाडौं । दुई सातादेखि अस्पतालमा उपचाररत अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ ।उनको उपचारमा सहयोग गर्दै आएको नेपाल चलचित्र कलाकार संघले यसबारे जानकारी दिएको हो । ‘उनको स्वास्थ्य सुधारोन्मुख छ र शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएका छन्,’ संघका सदस्य गोपाल ढकालले भने ।

निमोनिया भएपछि उनी चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत छन् । उपचाररत अभिनेता अधिकारीको निधन भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएपछि कलाकार संघ र स्वयं अधिकारीले यसप्रति खेद जनाएका छन् ।

कलाकार संघले विज्ञप्ति जारी गर्दै भ्रामक र कपोलकल्पित हल्लाप्रति खेद व्यक्त गरेको छ । हल्ला फैलाउने सामाजिक सञ्जालका केही पेज र व्यक्तिलाई साइबर ब्युरोमा उजुरी दिने कलाकार संघको तयारी रहे पनि अधिकारीको आग्रहपछि रोकिएको छ । संघका कार्यवाहक अध्यक्ष सानुकुमार ताम्राकार लगायत सदस्यहरुले बारम्बार अधिकारीलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझिरहेको जानकारी पनि कलाकार संघले दिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १२ : ३६ बजे