मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव नेतृत्वको नेकपामा ‘सी’ थर निर्माण




६ कात्तिक, काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताले आफ्नो नामका पछाडि ‘सी’ राख्न थालेका छन् । पार्टीको नौ महाधिवेशनमा विप्लवले जात व्यवस्थाको अन्त्य गर्न हरेक पार्टी सदस्यले नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेका थिए ।जातिय व्यवस्थाले जकडिएको नेपाली समाजमा विप्लवले थप अर्को नयाँ थरको नामकरण गरेका छन् । कम्युनिस्ट पार्टीले जात व्यवस्थाबाट हुने विभेदलाई अन्त्य गर्नुपर्नेमा उल्टै जात व्यवस्थालाई प्रसय दिएका छन् । विप्लवले महाधिवेशन हलबाट विशेष प्रस्तावको रुपमा नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेपछि पार्टीका कार्यक्रम, डकुमेन्ट र सामाजिक सञ्जालमा ‘सी’ राख्न थालेका छन् ।

पार्टीका नेता कार्यकर्ताले पार्टीको निर्देशन बमोजिम आ–आफ्नो अनुकूलमा सी राख्न थालेका हुन् । ‘पार्टी महाधिवेशनमा महासचिव कमरेडले विशेष प्रस्तावको रुपमा नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गर्नुभयो । हलबाट डगडगाहट तालिका साथ पारित भयो’ केन्द्रीय सदस्य शेरबहादुर विश्वकर्माले भने, ‘पार्टीको नीति बमोजिम नेता कार्यकर्ताले आफ्नो नामका पछाडि सी लेख्न थालेका हुन् । अब हामी नामका पछाडि कुनै थर राख्दैनौ ।’

नेपाली समाज धेरै वर्षदेखि जातजाति व्यवस्थाको जाँतोमा पिल्सिएकाले नामका पछाडि सी राखेर जात व्यवस्था उन्मुलन गर्न खोजेको विश्वकर्माले जिकिर गरे । ‘हामी कम्युनिस्ट पार्टीमा छौं । हामीले जात, धर्म, धनी, गरिबको विभेदलाई अन्त्य गरेर समतामूलक समाज निर्माण गर्न खोजेका छौ’ उनले भने– ‘पार्टीमा त्यो बाहुन, त्यो क्षेत्री, राई, लिम्बु, मगर तामाङ, दलित भन्ने जस्तो हुनसक्छ । त्यसैले पार्टीका सबै साथीहरुले सी लेख्ने र त्यसपछि पार्टी बाहिर पनि लागू गर्ने भनेका छौ ।’

तत्कालीन माओवादीले जनयुद्धका क्रममा जात व्यवस्थाको अन्त्य गर्ने भन्दै छदम भेषमा उपनाम राख्ने गरेका थिए । जातमा महिला पुरुष मात्रै हुने भएकाले नामको पछाडि थर नराखेर उपनाम राख्ने गरेका हुन् । अहिले फेरि विप्लवले नामका पछाडि सी राखेर नयाँ थरको नामकरण गरेका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ५९ बजे