मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीको पडरियामा दुई समुदायबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु



११ कात्तिक, काठमान्डौँ । महोत्तरीको भङ्गाहा नगरपालिका ८ पडरियामा दुई समुदायबीच भएको विवादपछि स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । पडरियाको दक्षिण बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म बिहीबार अपरान्ह ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु छ ।

बिहीबार बिहान ११ बजेको समयमा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले र्‍याली निकालेका क्रममा झडप भएको थियो । झडप नियन्त्रणमा खटिएएका १३ जना प्रहरीसहित १७ जना घाइते भएका महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका डीएसपी चन्देश्वर यादवसहित ६ र सशस्त्र प्रहरी बलका ७ जना गरी १३ जना सुरक्षाकर्मी र चारजना स्थानीय वासिन्दा घाइते भएका हुन् ।

झडप नियन्त्रणमा लिन प्रहरीले ३० राण्ड हवायफायर गरेको थियो । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । साम्प्रदायिक सद्भाव कायम गर्न बिहानैदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वपक्षीय बैठक जारी छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १ : ४० बजे