मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जमा छठका सामान किनबेच गर्नेको घुइँचो



१३ कात्तिक, काठमान्डौँ। वीरगञ्जमा छठ पर्वका लागि आवश्यक पर्ने सामान किनबेच गर्नेको घुइँचो लागेको छ । घण्टाघर, मीनाबजार, रेल्वे रोड टाँगा स्टेसन, माइस्थान, मुर्ली लगायतका ठाउँमा सामान्य दिनमा भन्दा बढी भिडभाड देखिएको हो ।घण्टाघरदेखि माइस्थानसम्म पार्किङ गर्न राखिएको मोटरसाइकल दुई(तीन गुणा बढेको छ । छठ पर्वकै कारण आर्थिक नगरी वीरगञ्जमा समान्य दिनको तुलनामा मानिसहरुको चहल पहल बढेको व्यापारीहरु बताउँछन् । छठ पर्वका लागि आवश्यक समान जोहो गर्न मानिसहरु वीरगञ्ज र आसपासका गाउँबाट बजार आएका छन् । गाउँघर, छठघाट र स्थानीय एफएम रेडियो छठका गीतले गुञ्जायमान छन् । वीरगञ्ज लगायत तराई मधेसका बजारहरुमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामग्री, माटोका तथा अन्य भाडाँवर्तन, लत्ता कपडा इत्यादिको किनमेल बढेको छ । अदुवा, मुला, केरा, माटोका भाडा र बाँसको चोयाबाट बनेका सामाग्रीहरु बिक्रिका लागि राखिएका छन् ।

वीरगञ्जमा प्रायः चाडमा सडकमै बजार लाग्ने गर्छ । वडा दशैंमा जस्तै छठ पर्वको बजार पनि मुख्य सडकमै लाग्ने गरेको छ । त्यसैले मानिसहरुको चहलपहल पनि यहि क्षेत्रमा बढी हुने गर्छ । लत्ता कपडाका लागि भने वीरगञ्ज सिटी मार्केटमा बढी भिड देखिएको छ । वीरगञ्ज बजार छठ पर्वमा ‘कोशी भर्न’का लागि आवश्यक सामग्रीले ढाकिएका छन् । जसमा बोटसहितको अदुवा, पिडालु, पात सहितको मुला, वेसार, बोडी, नरिवल, स्याउ, सुन्तला, केरा लगायतका कृषिजन्य उपज हुने गर्दछ । अर्घका लागि कसैली (सुपारी), इलाइची, ल्वाङ, सिन्दुर लगायतका समान चाहिन्छ । कोशी भर्न आवश्यक सामान २ सय रुपैयाँ किलोमा किनबेच भइरहेको छ । छठ पर्वमा बोट सहितको अदुवा, पात सहितको मुला आवश्यक पर्छ । किसानको खेतबारीमा उब्जनी हुने सामान नै छठमा प्रयोग हुन्छ । तर सबैले खेती गर्दैनन्, खेती गर्नेकोमा पनि सबै सामान हुँदैन । त्यसैले छठको ब्रतका लागि आवश्यक सामग्रीहरु मानिसहरुले बजारबाट खरिद गरेर लैजान्छन् । घण्टाघरबाट पूर्व लिंकरोडको किनारमा लहरै बाँसको चोयाले बनेको छैटी बेच्न राखिएको छ । छैठीमा छठ गर्न आवश्यक सामान राखेर घाटसम्म लैजाने चलन छ । बाराको फेटा गाउँपालिका-२ का नरसिंह राम पनि छैटी बेच्न बसेका छन् ।यो बेचेर घर फर्केपछि थप छैटी बनाएर आइतबार बजारमा ल्याएर बिक्रि गर्ने उनले बताए । ‘बाँस ल्याउ, चिरेर मिलाउ अनि बनाउ, कम्तीको दुःख छैन’, उनले भने, ‘तर पेट पाल्नका लागि काम त गर्नुनै पर्छ । ‘ उनले शुक्रबार ११ वटा छैटी बेचेका रहेछन् ।सत्येन्द्र कुमार त्यस्तै व्यापारी मध्येका एक हुन् ।

भारतको बिहार राज्य हाजीपुरबाट उनी सहित ३ जना केरा बेच्न वीरगञ्ज आएका हुन् । उनीहरुले पोकेको र हरियो गरेर २७५ घरी केरा बजारमा बेच्न राखेका छन् । ८ सय रुपैयाँ घरी वा सय रुपैयाँ दर्जनमा केरा पाईन्छ । काँचो होस वा पाकेको दुवैखाले केरा छठमा प्रयोग गर्न सकिन्छ । छठ पर्वका लागि आवश्यक सामाग्री सहित वीरगञ्ज(१६ नगवाकी शिव कुमारीले माइस्थान मन्दिर जाने सडकमा पसल थापेकी छन् । तर माईस्थानमा यसपटक खासै व्यापार नभएपछि उनी दिक्क छिन् । अरु बेला माइस्थान मीना बजारमा तरकारीको व्यापार गर्ने उनी छठ पर्वमा कोशी भर्ने र अर्घ दिने समान बिक्रि गर्छिन् । सुथनी, अरुनी, बोडी, आदि (अदुवा), हर्दी (बेसार), निम्बु (कागती), मुरही (मुला) पसलमा राख्छिन् । ‘हरेक वर्ष माईस्थानको बीच सडकमै पसल लगाउने गरेको थिएँ । तर यसपालि वीरगञ्ज महानगरले बीचमा पसल लगाउन दिएन । मन्दिर प्रवेश गर्ने ठाउँमा पनि डिभाइडर राखिएको छ । घण्टाघरतिर जस्तो मान्छे आईरहेका छैनन्’, उनले भनिन् ‘१ लाख रूपैयाँ ऋण लिएर समान किनेको छु । बिक्री भइरहेको छैन, ओइलिन थालेको छ । ‘ कात्तिक शुक्ल चौथी तिथीका दिनबाट भने विधिवत रुपमा छठ आरम्भ हुन्छ । सप्तमीका दिन बिहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि मात्रै छठ सम्पन्न हुन्छ । छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, भोगटे, मुला, बोट सहितको अदुवा, सिजनका फलफुल र हरियो तरकारीहरु हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ३० बजे