मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको मृत्यु, १९ जना मृतक विदेशी नागरिक



१३ कात्तिक, काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ । तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । हेलोविन पर्व मनाउनका लागि इथेवन भन्ने स्थानमा भिड जम्मा भएको थियो ।

त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । घटनामा मृत्यु हुनेमा धेरैजसो युवाहरु रहेको अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई सडकमै सुताएर उपचार गरिएको भिडियोमा देखिन्छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान गर्न तथा घाइतेहरुको उद्धार तथा उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् । यो घटनापछि अमेरिकी राष्ट्रपति जो बिडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन लगायत विश्वभरका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ३४ बजे