मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बदलिएको सरकारी अस्पतालमा उपचार गराउनेको भीड



१३ कार्तिक ,काठमान्डौँ । कुनै बेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ । जिल्ला अस्पताल सुनसरीले आफ्नो धमिलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो । जहाँ एका बिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ । पालो कुरेरै भएपनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ । लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेहरुको चङ्गोलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परिवर्तनको अनुभुति गर्न पाएका छन् । स्रोत साधनको उपलब्धताको आधारमा अस्पतालले २४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा थालेसँगै अस्पतालप्रतिको आम सर्वसाधारणको धारणा समेत बदलिएको छ । अस्पतालको सेवाप्रति विश्वास जगाएको छ । जसको पछाडी एक जिद्दी डाक्टरको भुमिका अहम रहेको स्थानीयहरु बताउँछन् ।

नाम बदनाम अनि गुमनाम बन्न पुगेको अवस्थाबीच कार्यक्षेत्र रोजेर आएका डाक्टर देवराज घिमिरेको जिद्दीपनले नै यतिबेला अस्पताल कायापलट भएको हो । डाक्टर घिमिरेको साथमा यतिबेला सारा गाउँ नै लागिपरेको बताउछन् सञ्चारकर्मी राजेन्द्र पोखरेल । उनले डाक्टर घिमिरेले आफ्नो जिद्दीपना त्यागेको भए अस्पतालको दुरावस्था यतिबेला पनि रहिरहने जिकिर गरे । उनले हरेक क्षेत्रमा सुधारको लागि हठी र सन्की मान्छेको आवश्यक पर्ने कुरा महशुस गरेको बताउछन् । त्यस्तै सामाजिक अभियन्ता विनिता दाहालको अनुभव पनि सञ्चारकर्मी पोखरेलको भन्दा फरक छैन । उनी मानिसले गर्न चाहेको खण्डमा असम्भव नहुने बताउछिन् ।

अस्पतालमा बिरामीको चाप बढ्दै जानुमा अस्पताल सुविधा सम्पन्न हुँदै जानु र चिकित्सकको पर्याप्तता, सरल र सहज सेवा प्रवाह प्रमुख कारकका रुपमा हेरिएको छ । कुनै समय औषधि खरिद लगायत प्रशासनिक खर्च अपारदर्शीता जस्ता आर्थिक अनियमिततामा रुमल्लिएको अस्पतालले यतिबेला मासिक ५० लाख बढी आम्दानी गरिरहेको छ । प्राथमिक उपचार गराउनसमेत बिरामीहरु जान नचाहने अस्पतालले यतिबेला इको, इसीजी, इन्डोस्कोपी, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसूति, मानसिक रोग तथा दाँतको विशेषज्ञ सेवा लिनको लागि इनरुवा अस्पताल पुग्ने गरेका छन् । जसले अस्पताल प्रतिको विश्वसनीयता दर्शाएको सहजै अनुभुति गर्न सकिन्छ । जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा। देवराज घिमिरे जिद्दी डाक्टरको रुपमा आफू चिनिए पनि आफूले स्वास्थ्य सेवा नागरिकले पाउनका लागि २४ सै घण्टा अस्पताल खुल्नुपर्ने माग गर्दै आएको बताए । उनले सबै उपचार अस्पतालमा नै हुनुपर्छ र नागरिकले सहज उपचार पाउनुपर्छ भन्ने कुरामा जिद्दी रहेको बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : ११ बजे