मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छठघाट सजावटमा लाखौं खर्च



१३ कात्तिक, काठमान्डौँ। छठ पर्वका लागि वीरगञ्जका छठ घाटहरुलाई सजाएर स्थानीयले झकिझकाउ बनाएका छन् । छठको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिनका लागि नदी, पोखरी, तलाउको किनारहरुमा बनाइएको छठ घाटलाई लाखौं खर्च गरेर सजाइएको हो । वीरगञ्जको घडीअर्वा पोखरीको सजावट र व्यवस्थापनमा यस वर्ष १६ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ । घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष हिरालाल साह कानुका अनुसार घडीअर्वा छठघाट सजावट र व्यवस्थापनमा १६ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ । टेण्ट र पण्डालमा ७ लाख २५ हजार, परिसर बाहिरको बत्ती सजावटमा १५ हजार, भिडियो ग्राफीमा ४१ हजार, पुरस्कारमा ५ लाख र सरसफाइमा ५१ हजार लगायत खर्च भएको उनले बताए । त्यसैगरी मुर्ली पोखरी छठघाट सजावटका लागि ११ लाख खर्च गरिएको छ । ५ हजारबाट सजावटको काम सुरु गरिएकोमा ११ लाखभन्दा बढी खर्च भएको मुर्ली छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रमेश साह कानुले जानकारी दिए । आदर्शनगरस्थित स्वीमिङ पुल छठघाटमा सजावट सहितको व्यवस्थापनमा ४ लाख रुपैयाँ खर्च भएको मुर्ली जालानले बताए । वीरगञ्जको रानीघाटस्थित छठघाट सजावटमा पनि ५र६ लाखको हाराहारीमा खर्च भएको छठपूजा व्यवस्थापन समितिले जनाएको छ ।

यसका साथै नगवा, छपकैया, रामगढवा, अशोकवाटिका, बजार छपकैया, श्रीपुरलाई पनि सजाएर झकिझकाउ बनाइएको छ । एक दशक पहिलेसम्म वीरगञ्जमा घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा पोखरी, मुर्ली पोखरी, छपकैया पोखरी, इनर्वा पोखरी, लक्ष्मण वाको पोखरी, जिल्ला प्रहरी कार्यालय छेउको पोखरी, बहुअरबी गरी एक दर्जन जलाशयमा मात्र छठ घाट स्थापना गरेर छठ पूजा गर्ने गरिएकोमा पछिल्लो केही वर्ष यता वीरगञ्ज महानगरका दर्जनौं स्थानमा छठघाट बनाएर पूजा हुने गरेको छ । छठघाटमा ब्रतालु, दर्शनार्थी र भक्तजनहरुको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १ सय ५० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिएको छ । घडिअर्वा छठघाट परिसरमा सुरक्षाका लागि १४ वटा सीसीटीभी क्यामेरा पनि जडान गरिएको सुरक्षा उपसमतिका संयोजक प्रभाकर गुप्ताले जानकारी दिए । अत्याधिक भिडभाड हुने घडीअर्वा पोखरी परिसरमा सुरक्षाका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने सुरक्षा निकायका अधिकृतहरुले बताएका छन् । तडक भडक बढेकोमा चिन्ता प्रकृति पुजनको पर्व मानिने छठमा खुल्ला आकाशमुनि बसेर नै सूर्यको आराधना गरिन्छ । अहिले पनि ब्रतालुहरु अर्घ दिनका लागि खुल्ला आकाश मुनि जाने गर्छन् । तर हाल छठघाटमा आकर्षक पण्डाल लगाउने, झिलिमिली विद्युतीय बत्ती बाल्ने, फूलले सजाउने, भजन संगीतका लागि ठूला साउण्ड सिस्टम जडान गर्ने क्रम बढ्दै गएको छ । जसका कारण छठ पर्व झन् खर्चिलो भएको धर्म संस्कृतिका जानकारहरुको तर्क छ । सामाजिक अभियन्ता प्रकाश थारु दुई दशक यता साजसज्जा गर्ने प्रवृत्ति मौलाएको बताउँछन् । ‘दुई दशक यता निकै तामझाम देखिन्छ, पहिला यस्तो थिएन, केराको खम्बा गाडिन्थ्यो ।

डोरी तानेर ध्वजा, पताकाहरु लगाइन्थ्यो,’ उनले भने ‘बाँसलाई चिरेर केराको खम्बामा टाँगेर त्यसमै दियो बालिन्थ्यो ।’ मौलिक पर्वमा आडम्बरपन बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नेहरु पनि छन् । मौलिकता भन्दा पनि देखासिकी पन हावी भएको र सजावटको नाममा अस्वस्थ प्रतिश्पर्धाको विकास हुन थालेको उनीहरुको भनाइ छ । भोजपुरी भाषा सँस्कृतिमा विद्यावारिधि गरेका प्राध्यापक डाक्टर विश्वम्भर शर्मा सजावट गर्नु नराम्रो नभए पनि भड्किलो हुँदा पर्वको मौलिकता लोप हुने चिन्ता गर्छन् । ‘पहिला छठघाट वरपर सफाइ गर्ने, जलाशयलाई पवित्र बनाउने क्रियाकलाप हुन्थे, शिरसोप्ताको एउटा गोलमा केराको बोट, अशोकका हाँगा, झण्डा पताका गाड्ने गरिन्थ्यो,’ उनले भने, ‘अहिले मौलिकता लोप हुँदै गएको छ, छठ पर्व नभएर, कुनै विवाह उत्सव जस्तो देखिन थालेको छ ।’ सँस्कृतिविद उमाशंकर द्विवेदी परम्परागत रुपमा छठ पूजा साधारण हिसाबले मनाउने पर्व भएको बताउँछन् । पछिल्लो समयमा छठमा वैभव प्रदर्शन गर्ने कुप्रथाको विकास हुँदै गएको उनको भनाइ छ । छठ पर्वमा सुथनी, बोडी, मुला, अदुवा, नरिवल जस्ता कृषिजन्य बस्तुलाई प्रसाद मानिन्छ । अर्थात यो साधारण हिसाबले मनाइने पवित्र र प्रकृतिको पुजन हो, तर पछिल्लो समयमा तडक भडक वैभव प्रदर्शन हुन थालेको छ । ‘पहिला यस्तो पैसा खर्च हुँदैनथ्यो । तामझाम देखावटी आडम्बर हुँदैनथ्यो । शुद्ध सात्विक हिसाबले पर्व मनाइन्थ्यो । छठमाताको व्रत पूर्ण भक्तीपूर्वक गर्ने प्रचलन थियो,’ उनले भने, ‘छठघाट पनि लाखौं खर्च गरेर सजाइन्छ, ब्रतालुहरु पनि तडक भडकवाला कपडा लगाउँछन्, पटाका पड्काउँछन्, आतिशबाजी हुन्छ । जुन आवश्यक छैन, त्यो पनि हुन्छ ।’विभेद अन्त्य गर्न सफल भएको दाबी पहिले व्यक्तिगत रुपमा पैसा हुनेले मात्रै पण्डाल लगाउने गरेकोमा २० वर्ष अघिदेखि नै घडिअर्वा पोखरीमा छठपूजा व्यवस्थापन समितिमार्फत विशेष सजावट हुने गरेको छ । छठघाटमा झालर तथा पण्डाल लगाउन भारतीय मजदुरहरु आउने गरेका छन् । स्वेच्छिक दानबाट प्राप्त हुने रकम र चिठ्ठा खेलाउँदा उठ्ने पैसाबाट छठघाट सजाउने गरिएको व्यवस्थापन समितिका सदस्यहरु बताउँछन् । बजारमा महँगी बढेसँगै सजावटमा पनि खर्च बढ्दै गएको उनीहरुको भनाइ छ । घडिअर्वा पोखरी छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव मनोहर साह सामूहिक रुपमा सजाउँदा धनी र गरिब बीचको विभेदलाई अन्त्य गर्न सफल भएको बताउँछन् । ‘पहिला पैसा हुनेहरुले मात्रै पण्डाल लगाउँथे, आर्थिक अवस्था कमजोर भएकाहरु खुल्ला आकाश मुनि नै बस्थे । समिति गठन भएपछि धनी र गरिब बीच देखिएको असमानता हटेको छ । सक्नेले चन्दा सहयोग दिन्छन् । नसक्नेले दिँदैनन्,’ उनले भने, ‘सबैतिर समान किसिमले सजाइन्छ ।’

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  २ : १४ बजे