मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन पछि गठबन्धन कायमै रहन्छ भनेर भन्न सकिँदैनः भुसाल




१४ कात्तिक, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न नसकिने बताइका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव भुसालले सत्तारुढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरूले चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको कुरा त्यही भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर पनि जनताको प्रतिनिधिको रूपमा त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् ।

गठबन्धन यही रहने र आफ्नो पार्टी पनि सरकारमा जाने परिस्थिति बन्यो भने पार्टीको नीति, कार्यक्रम र चुनावी घोषणा पत्रका प्रतिबद्धता सरकारमै रहेर कार्यान्वयनका लागि पहल गर्ने महासचिव भुसालको भनाई थियो । उनले भने, ‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ । अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन । यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरु कार्यान्वयनका निम्ति पहल गर्छौँ । यो भन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौ । हामीले यो घोषणा पत्रमै के भनेका छौँ भने–हामी सरकारमा रहने अवस्था भयो भने हामी यी हाम्रा प्रतिबद्धताहरुलाई कार्यान्वयनमा उतार्छौँ ।

यदि हामी सरकारमा रहेनौँ भने हामी हाम्रा आवाजहरू जनताको आवाजको रूपमा जनप्रतिनिधिको रूपमा उठाइरहन्छौँ । हाम्रोतर्फबाट हामीले पहल गरिरहन्छौँ भनेका छौँ । कुरा यही हो । गठबन्धन यही रहन्छ, यो गठबन्धनमा हामी पनि रहन्छौँ भने हामीले हाम्रा नीति, कार्यक्रमहरू सरकारमै रहेर पहल गर्छौँ । यदि यो रहेन भने अर्कै परिस्थिति निर्माण भयो भने तदनुकूलनै हाम्रा कुराहरू लिएर अघि बढ्छौँ ।’ महासचिव भुसालले आधारभूत तहको शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन पनि आफूहरूले पहल गर्ने कुरा घोषणा पत्रमा समावेश गरिएको बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  २ : १७ बजे