मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पामा आहाराको अभावमा मरे चौँरी र नाउर



१४ कार्तिक ,काठमान्डौँ । उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी र नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी र नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिए । चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उनको भनाइ छ । आफ्नो मात्र सातवटा चौँरी मरेको उनले बताए । यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उनले जानकारी दिए ।

चौँरी खोज्दै जाँदा शे फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया) मा चौँरी मरेको फेला परेको पीडित किसानले बताएका छन् । घाँस पाइने ठाउँमा चरिचरण गर्न नदिने र हिमालमा हिउँका कारण घाँस नपाउने भएपछि चौपाया मरेको स्थानीयवासीले बताए । केहीले सेतक चिनी खाएर पनि मरेको बताएका छन् ।

जथाभावी सेतक चिनी सङ्कलन गरेर जनावरलाई चरिचरण क्षेत्र नै सखाप पार्ने अवस्था अन्त्य गर्नुपर्ने स्थानीय अनुगबहादुर लामाले बताए । चरिचरण क्षेत्र मास्दै जाने हो भने चौपायपालनमै समस्या हुने उनको भनाइ छ । उपल्लो डोल्पामा ढुवानी र दूधका लागि चौँरीपालन गरिन्छ । मासु र कपडा निर्माणका लागि भेडाच्याङग्रापालन हुँदै आएको छ । नाउर हिउँ चितुवाको मुख्य आहारा हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  २ : ४७ बजे