मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोसिमा कार्की र नो नट अगेनसम्बन्धी रिट न्यायाधीश चुडालको इजलासमा




१५ कात्तिक, काठमाडौं । लाभको पदमा रहेको ठहर गर्दै उम्मेदवारी खारेज गरिदिएको तोसिमा कार्की र नो नट अगेनमाथि प्रतिबन्धका सम्बन्धमा परको रिट न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ । मेडिकल काउन्सिलको सदस्य भई बैठक भत्ता बुझेकै आधारमा त्यसलाई लाभको पद मान्दै उम्मेदवार हुन अयोग्य हुने निर्वाचन आयोगले निर्णय गरेपछि ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा.तोसिमा कार्की सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् ।

मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको र त्यहाँबाट नियमित तलब तथा भत्ता नबुझेको कारण आफ्नो उम्मेदवारी कायम रहनुपर्ने माग गर्दै तोसिमा अदालत गएकी थिइन् । उनको रिटमाथि अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने सम्बन्धमा मंगलबार सुनुवाइ हुने छ । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिई छलफलका लागि बोलाएमा उनको उम्मेदवारी तत्कालका लागि कायम नै रहनेछ र दुई न्यायाधीशको संयुक्त इजलासमा दुवै पक्षको कुरा सुनेपछि अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने विषयमा निर्णय हुनेछ । तर मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेमा उनको उम्मेदवारी निष्क्रिय हुनेछ ।

त्यसैगरी नो नट अगेन लगायतका फेसबुक पेजमाथि प्रतिबन्ध लगाउने वा पेज बन्द नगरे कारवाही गर्ने निर्वाचन आयोगको चेतावानीविरुद्ध परेको रिट पनि न्यायाधीश डा.कुमार चुडालकै इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमा पनि मंगलबार सुनुवाइ हुनेछ । उनीहरुले निर्वाचन आयोगको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र वाक स्वतन्त्रताको रक्षा गर्न परमादेशको माग समेत गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ११ : २६ बजे