मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लामा २ महिनामा २ सुत्केरीको मृत्यु



१५ कात्तिक, काठमान्डौँ । गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका-७ की २४ वर्षकी पवित्रा शाही छत्यालको मृत्यु भयो । गाउँकै नजिकै स्वास्थ्य संस्थामा औषधी उपचार हुन नसकेपछि उनको गाउँमै मृत्यु भएको हो । सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिप्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनको सुविधा सम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो । यही कात्तिक १५ गते (मंगलबार) हुम्लाको अदानचुली गाउँपालिका(५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको पनि सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।

स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको उनका आफन्त बलबहादुर शाहीले गुनासो गरे । गाउँबाट स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा उनको मृत्यु भएको बलबहादुरको भनाइ छ ।

पवित्रा र रङ्गिता दुवै जनाको एक महिनाको फरकमा एउटै बेथाले मृत्यु भयो । उनीहरूको राम्रो अस्पतालमा पुग्न नपाइ मृत्यु भएको आफन्त बताउँछन् । हुम्लामा यातायातको समस्या छ । हवाई यातायातको विकल्प छैन तर जहाज टिकटको पाउन मुस्किल पर्छ । यसले गर्दा बिरामीहरूको समयमै अस्पताल पुग्न नपाई मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : २० बजे