मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विगतदेखि वर्तमानसम्मका सबै भ्रष्टाचारीलाई ठेगान लाउने एमालेको घोषणा




१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले सुशासन कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले अब बन्ने आफ्नो नेतृत्वको सरकार देश र जनताको हित र सेवामा समर्पित हुने भन्दै सुशासन र शान्ति सुरक्षालाई सुदृढ बनाउने दावी गरेको छ । नेपालभित्रको जुनसुकै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीसाधन दर्ता र सवारी चालक अनुमतिपत्र, घरजग्गा लगायतका सम्पत्तिको खरिद बिक्री कर, विद्युत, खानेपानीलगायतका सरकारी शुल्क तथा कर बुझाउने र स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू अनलाइन प्रणालीबाट उपलब्ध गराइने एमालेले जनाएको छ ।

‘सार्वजनिक कार्यालयबाट सम्मानजनक व्यवहार र निष्पक्ष सेवा शीघ्र उपलब्ध गराइनेछ । राज्यका सम्पूर्ण संयन्त्रलाई देश र जनताको सेवा गर्ने कर्तव्य पुरा गर्न केन्द्रित गरिनेछ । सरकारको प्रभावकारिता वृद्धि गर्ने र राष्ट्रिय जीवनका सबै क्षेत्रमा सुव्यवस्था र सुशासन कायम गरिनेछ’, एमालेले भनेको छ ।कार्यसम्पादन र योग्यता प्रणालीलाई सार्वजनिक प्रशासन सञ्चालनको आधार बनाउने जनाएको एमालेले राष्ट्रसेवकहरूलाई सम्मानजनक जीवन निर्वाहका लागि आवश्यक पारिश्रमिक तथा सुविधा उपलब्ध गराउने जनाएको छ । नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूको क्षमता विकास गरिने घोषणापत्र बनाएको एमालेले स्रोत, साधन र आधुनिक सुरक्षा सामग्रीहरूको व्यवस्था मिलाउँदै सुरक्षा निकायहरूलाई दक्ष, व्यावसायिक र उच्च मनोबलयुक्त बनाइने दावी गरेको छ ।

त्यस्तै एमालेले सङ्घीयता कार्यान्वयनको अनुभव समेतका आधारमा निजामती सेवालगायत सम्पूर्ण सार्वजनिक क्षेत्रको पुनरावलोकन गरी सार्वजनिक क्षेत्रमा रूपान्तरणकारी सुधार गर्ने प्रतिवद्धता जनाएको छ । ‘समृद्ध नेपालका लागि प्रभावकारी सार्वजनि क सेवा’ लाई प्रशासन सुधारको मूल आदर्श मानिनेछ’, एमालेले भनेको छ, ‘नेपाल सरकारका सङ्घीय तथा प्रदेश सरकारका मन्त्रीहरूको कार्यसम्पादनको सार्वजनिक परीक्षण गर्ने व्यवस्था प्रारम्भ गरिनेछ । यस परीक्षणको पृष्ठपोषणका आधारमा मन्त्रीहरूको निरन्तरता र जिम्मेवारी हेरफेरको निधो गर्ने प्रचलनको विकास गरिनेछ ।’ त्यस्तै अख्तियारको दुरुपयोग, राष्ट्रिय तथा सरकारी स्रोत साधनको दोहन र भ्रष्टाचारप्रति निर्मम, कठोर र शून्य सहनशीलताको नीति अपनाइने जनाएको छ । एमालेले सरकारी सम्पत्तिको दुरुपयोग र अपचलन गर्ने जुनसुकै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएको छ । जबकि यसअघिको एमाले नेतृत्वकै सरकारका पालामा भएका अरबौ भ्रष्टाचारप्रति एमाले मौन छ ।

‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानुनी कारबाही अगाडि बढाइने छ । भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गरिनेछ’, एमालेको भनाइ छ । सरकारी जग्गा अतिक्रमण गर्नेहरुविरुद्ध छानबिन अनुसन्धान तदारुकताका साथ अगाडि बढाउने जनाएको एमालेले दोषीलाई कानुन बमोजिम दण्डित गरिने उल्लेख गरेको छ । त्यस्तै नेपाल ट्रस्ट र सरकारको नाममा रहेको जमिन र सम्पत्ति सरकारको स्वामित्वमा ल्याउने घोषणा गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ३५ बजे