मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जबाट सुरु भयो ‘महापुरुष’को पोस्ट-रिलिज प्रचार, दर्शकसँग बसेर फिल्म हेर्ने



काठमाडौं । अहिले हलमा चलिरहेको महजोडी स्टारर फिल्म ‘महापुरुष’लाई दर्शकले रुचाइरहेका छन् । पहिलो सप्ताहन्त उत्कृष्ट कमाइ गरेको फिल्मलाई बलियो वर्ड अफ माउथ मिलिरहेको छ । पहिलो साता फिल्मले चार करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने प्रक्षेपण छ । दोस्रो साता पनि ठूला फिल्म नभएकाले यसको फाइदा महापुरुषलाई नै हुने देखिन्छ । विकडेजमा समेत ५० प्रतिशतभन्दा बढी अकुपेन्सीसहित प्रदर्शन भइरहेको फिल्ममा दर्शकलाई तान्ने अभियान निर्माताले थालेका छन् । यतिबेला निर्माताको जोड मोफसल केन्द्रित देखिन्छ ।

जसअनुसार निर्माता र कलाकारको टोली बुधबार पश्चिम नेपालको प्रमुख फिल्म बजार नेपालगञ्ज पुगेको छ । त्यसपछि सुदूरपश्चिम, लुम्बिनी प्रदेशका हल हुँदै पूर्वी नेपालका हलमा ‘क्याम्पेन’ चलाउँदै फिल्मले दर्शकसँग साक्षात्कार गर्नेछ । कात्तिक १६ मा नेपालगञ्जमा दर्शक भेटघाट गर्ने टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो बुटवल र १८ गते नारायणगढका दर्शकसँग भेटघाट गर्दै काठमाडौं फर्किनेछ । महापुरुषको ‘पोस्ट-रिलिज’ भ्रमणमा रविन्द्रसहित निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली सामेल छन् । अघिल्ला आफ्ना फिल्म टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रैजात्रालाई पनि ती सहरबाट राम्रो प्रतिक्रिया मिलेको बानियाँले बताए । निर्देशक भट्टराई पनि दर्शकीय प्रतिक्रिया सकारात्मक रहेको बताउँछन् ।

‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ । हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ । यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो,’ निर्देशक भट्टराईले भने । अमेरिका भ्रमणमा रहेका अभिनेता हरिवंश आचार्यले भिडियो सन्देशमार्फत फिल्म हेर्न अपील गरेका छन् । यसअघिका नेपाली फिल्ममा महिलाको नजरबाट संवेदनाको कथा भनिए पनि महापुरुषले पुरुषको दृष्टिकोणबाट संवेदनाको कथा पेस गर्छ । अधवैंसे एकल पुरुष प्रेममा पर्दा आउने सामाजिक र व्यक्तिगत उतारचढावको कथा यसले भन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १२ : ३८ बजे