मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा स्वतन्त्र उम्मेदवार उठाएको कांग्रेसले बनायो माओवादीसँग वार्ता गर्न कार्यदल



१७ कात्तिक, काठमान्डौँ। टिकट भागबण्डामा असन्तुष्टी जनाउँदै खोटाङ प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार उठाएको कांग्रेसले नेकपा माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल गठन गरेको छ । कांग्रेस नेता धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि गठवन्धनभित्र निम्तिएको समस्या समाधान गर्नका लागि कांग्रेस जिल्ला उपसभापति इवन राईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा कांग्रेस महाधिवेसन प्रतिनिधि विश्वनाथ निरौला र नेता मनोज तिम्सिनालाई सदस्यको जिम्मेवारी दिइएको छ । साझा सहमतिको विन्दुमा पुग्न र निर्वाचनमा जित निकाल्नका लागि कार्यदललाई आगामी मंसिर ३ गतेसम्मकै समय दिइएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए ।

खोटाङमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई र प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी) का बीरबलकाजी राई चुनावी मैदानमा छन् । कांग्रेसका स्वतन्त्र उम्मेदवार पोखरेल चुनाव चिह्न धारा लिएर चुनावी मैदानमा उत्रिएका छन् । यही कारण प्रदेशसभा (क) मा खुलेर गठबन्धनको कांग्रेससहितको संयुक्त घरदैलो कार्यक्रम हुन सकेको छैन । स्वतन्त्र उम्मेदवार पोखरेललाई अघि लगाएर कांग्रेस सभापति राई सहितका अधिकांश नेता छुट्टै दौडधुपमा व्यस्त छन् । वार्ता गर्न कार्यदल बनाए पनि प्रदेशसभा (क) मा माओवादी केन्द्रले ‘धारा’मा भोट हाले मात्र प्रतिनिधिसभामा ‘हँसिया हथौडा’मा भोट हाल्ने कांग्रेसको बटमलाइन देखिन्छ । कांग्रेसले गठबन्धन घटक नेकपा (एकीकृत समाजवादी) सँग भने वार्ता तथा छलफल गर्न चासो देखाएको छैन । प्रदेशसभा (क)मा माओवादीले आफ्नो स्वतन्त्र उम्मेदवारलाई भोट नहाल्ने अवस्था बने माओवादीलाई पनि प्रतिनिधिसभामा भोट नहाल्ने अडानमा कांग्रेस अघि बढेको छ । स्वतन्त्र उम्मेदवारलाई अघि सारेर कांग्रेस सिंगल लड्न पनि तयार देखिन्छ । ‘प्रदेशसभा (क)मा माओवादीले धारामा भोट दिनुपर्छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रलाई भोट हाल्छ,’ सभापति राईले भने, ‘प्रदेशसभा (क) मा जो समस्या सिर्जना भएको छ, त्यसलाई वैज्ञानिक विधिबाट हल गर्ने प्रयासमा कार्यदल बनाइएको हो । गठन्धनलाई स्वीकार्य हुने विकल्पमा छलफल हुन्छ । तर माओवादीले वार्ताको रणनिती कसरी तयार गर्छ, त्यसमा पनि भर पर्छ ।’

प्रदेशसभा (क) मा कांग्रेसको करिब १७ हजार मत छ । त्यसमा माओवादी केन्द्रको मत थप हुँदा विजय निश्चित रहेको कांग्रेसको दावी छ । तर, गठबन्धनका नाममा माओवादी केन्द्रले कांग्रेसलाई टुक्र्याउन खोजे धारा र कलममा मत बाँडिएर एमालेले जित्ने खतरा रहेको सभापति राई बताउँछन् । कांग्रेसका केही नेता भने गठबन्धनकै पक्षमा मत हाल्नुपर्ने पक्षमा पनि देखिएका छन् । ‘माओवादीको चाहना कांग्रेस नेतालाई गठबन्धनमा तान्ने हुन सक्छ । उनीहरु गठबन्धन–गठबन्धन भन्दै हिँड्छन् । धारामा खस्ने मत विभाजित भएर कलममा झर्छ । त्यसलेचैं हाम्रो अभिष्ट पुरा हुँदैन,’ राईले भने, ‘एमालेको चाहना पनि स्वतन्त्र उम्मेदवार व्याक नहोस् भन्ने छ । सहमति नजुटे कांग्रेसको भोट छरपष्ट हुनेछ । त्यो अवस्थामा धाराले पनि जित्दैन, कलमले पनि जित्दैन, सूर्यले जित्छ । एमालेले फाइदा उठाउन सक्छ ।’ एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाइ नभएको भन्दै कांग्रेसका पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पुर्व राज्यमन्त्री सर्वधन राई र प्रदेशसभा (क) मै मनोनयन दर्ता गरेका पूर्वसभापति सुवासकुमार पोखरेलले उम्मेदवारी दर्ता गरेका थिए । अन्तिममा सर्वधन र सुवासकुमारले उम्मेदवारी फिर्ता गरे पछि धर्मराज भने निरन्तर अघि बढेका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ११ : ५२ बजे