मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट ९ जना पक्राउ



२४ कार्तिक ,काठमान्डौँ । देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट दुई ग्राम खैरो हेरोइनसहित जोशीपुर गाउँपालिका–२ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका–२७ अर्घौ चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, डाइजेपाम ३२ एम्पुल र नगद १२ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–३० तावामुख बस्ने ३५ वर्षीय हेमन्त थापा मगर छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग।१७ प ५७७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी स्कुटर चालक हेमन्तलाई पक्राउ गरेको हो । बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडा घर भएका ५४ वर्षीया जगु गिरीलाई ४६० ग्राम चरेससहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट ३१२ ग्राम ब्राउन सुगरसहित सुन्दरहरैचा नगरपालिका–१० बस्ने २४ वर्षीय सौगात राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ मेचीपुल छेउबाट ३ ग्राम ६ सय ६० मिलिग्राम ब्राउन सुगरसहित मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २३ वर्षीय सन्दीप गौतम समेत दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५९ एम्पुल, फेनारगन ५९ एम्पुल र नुर्फिन ६० एम्पुलसहित व्यास नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु।१ ख ८५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो । पर्साको वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार ३ सय ९८ पिससहित ललितपुर महानगरपालिका–१४ बस्ने ४४ वर्षीय रमेश चित्रकार र उनकी श्रीमती ३० वर्षीया मिना घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  २ : ५१ बजे