मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी सुरु



३० कार्तिक , काठमान्डौँ । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी आजदेखि सुरु भएको छ । बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा आवश्यक पर्ने सामग्री ढुवानीको काम सुरु भएको हो । निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई तालिम दिइएको, त्यसपछि निर्वाचन सामग्री हस्तान्तरण गरी उनीहरूलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडा राखिने थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको थियो ।

मतदानको दिन र मतदान हुनुभन्दा पहिला खटाइसके अवधिमा गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको छ । जिल्ला निर्वाचन अधिकारी फुँयालले भने– “टाढाका मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक सय ४० जनालाई आज मतपत्र र निर्वाचन सामग्रीसहित खटाएका छौँ, बाँकीलाई भोलि खटाउँछौँ । मङ्सिर १ गते साँझसम्म मतदानस्थलमा निर्वाचन सामग्री पुगिसक्छ । ”

बैतडीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी जिल्लामा एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिएको छ । निर्वाचनमा परिचालन हुने अन्य जनशक्तिलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखीकरण गर्ने जनाइएको छ । बैतडीमा एक सय २९ मतदानस्थलमा दुई सय १० मतदान केन्द्र रहेका छन् । यसका साथै एउटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् । यहाँ ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रदेशसभाका दुई सिटका लागि पनि ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  २ : १८ बजे