मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेका उमेदवारलाई भोट माग्ने मतदान अधिकृत जिम्मेवारीमुक्त



१ मंसिर, काठमान्डौँ । सामाजिक सञ्जाल फेसबुकमा उमेदवारलाई भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत जिम्मेवारीमुक्त भएका छन् । धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीले बिहीबार बिहान प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उमेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए ।

कार्कीको फेसबुकको स्कृनसर्ट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको जिल्ला आचार संहिता अनुगमन समितिलाई उजुरी दिएका थिए । उजुरीको आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टीकरण मागेको थियो । कार्कीले मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्वीकार गरेका थिए ।

आचार संहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत विष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । मालिका गाउँपालिका–४ को ओखरबोट माबिका प्रधानध्यापक रहेका कार्की निर्वाचन र मतदान अधिकृतको आचार संहिता विपरितको कार्य गरेकाले जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : २७ बजे