मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार



८ मंसिर, काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११।५६ अंक (०.६० प्रतिशत) ले बढेर १९३३.५५ अंकमा बन्द भएको छ । बिहीबार निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि भएका छन् । निर्जीवन बीमा उपसूचक भने ०.०४ प्रतिशतको सामान्य गिरावट भएको छ ।

बजार परिसूचकमा सुधार भएपनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन । बिहीबार बजारमा कुल २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजारको कारोबार भएको छ । जसमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक ७ करोड ६२ लाख ४८ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख ४१ हजार र एनआईसी एशिया बैंकको २ करोड ९३ लाख ७ हजारको कारोबार भएको छ । बिहीबार बजारमा कुल १९० कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४९ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १७ कम्पनीको भने स्थिर छ ।

बिहीबार कारोबार भएकामध्ये घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सवार्धिक ६.८३ प्रतिशतले वृद्धि हुँदा आरएमडीसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.८९ तथा साना किसान लघुवित्तको सेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । यता किसान लघुवित्तको सेयर मूल्य २.८९ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य २.०८ प्रतिशत तथा समता घरेलु लघुवित्तको सेयर मूल्य १.९७ प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ४ : ४१ बजे