मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप प्रिभ्यूः जर्मनीलाई हराएको जापान टिम कोस्टारिकाविरुद्ध आशावादी



११ मंसिर, काठमाडौं । जापान र कोस्टारिका दुवैले विपरीत तरिकाबाट कतार विश्वकपको सुरुवात गरेका छन् ।समूहको पहिलो खेलमा ब्लु समरिन (जापानी फुटबल टिमको अर्को नाम) ले २०१४ को च्याम्पियन जमर्नीलाई हराउनु एसियाली टिम इतिहासकै सबैभन्दा ठूलो क्षण थियो । कोस्टारिका टिम अघिल्लो खेलमा स्पेनसँग ७–० को फराकिलो नतिजामा स्तब्ध रह्यो । विश्वकपमा उसको यो सबैभन्दा ठूलो हार हो । यो खेलमा स्पेन हावी हुनेछ भन्ने पूर्वानुमान थियो नै तर, यो गोलअन्तरको अपेक्षा धेरैले गरेका थिएनन् ।

सुरुवाती खेलले यो समूहको पूरै समीकरण परिवर्तन गरिदिएको छ । लगातार दोस्रो जितसँगै नकआउट चरणमा प्रवेशका लागि जापन प्रयासरत हुनेछ । कोस्टारिकाले प्रतियोगितामा फर्किने लक्ष्य बनाउनेछ । पछिल्ला केहि विश्वकपमा जापानले एक प्रभावशाली टिम प्रदर्शन गरिरहेको छ । चार वर्षअघि सेनेगल, कोलम्पिया र पोल्याण्ड सम्मिलित समूहबाट माथि उठेको जापानले अन्तिम १६ मा बेल्जियमसँग २ गोलको अग्रता लिएर पनि ३–२ ले पराजित हुनुपरेको थियो । सन् २०१० को विश्वकपमा पनि जापानले समूह चरण पार गर्दा अन्तिम १६ मा पाराग्वेसँग पेनाल्टी शुटआउटमा हारेपछि बाहिरिनुपरेको थियो । जर्मनीलाई हराएको समाचारले जापानबासीमा एक खुसी र अप्रत्यासित अवसरको बहार आयो । जबकी यही क्यालेण्डर वर्षमा जापानले अमेरिका, घाना, अष्ट्रेलिया, दक्षिण कोरिया र साउदी अरबलाई परास्त गरिसकेको छ ।

कोस्टारिकाको वर्तमान टिमका ६ खेलाडी सन् २०१४ को विश्वकप टिमका सदस्य थिए । सो संस्करणमा कोस्टारिका क्वाटरफाइनलसम्म पुगेको थियो । सोही टिमका पाँच खेलाडी स्पेनसँगको खेलमा सुरुवाती टिममा परेका थिए । ती सबै खेलाडी ३० वर्षभन्दा माथि उमेरका छन् । कुनै समय विश्वका उत्कृष्ट गोलरक्षक रहिसकेका केलर नाभास स्पेनसँग खेलमा निराश थिए । उनका प्रयास सार्थक थिएनन् । उनी स्पेनको चौतर्फी हमलामा केहि गर्न सकेनन् । नाभास र कोस्टारिका टिमले जापानसँग अघिल्लो खेलकै नियतीबाट माथि उठ्न धेरै ठूलो प्रेरणा लिनुपर्नेछ । १९९० मा पहिलो पटक फिफा विश्वकप खेलेको कोस्टारिका पहिलो संस्करणमा नै राउण्ड अफ १६ मा पुगेको थियो । त्यसपछिको १९९४ र १९९८ को विश्वकपमा छनोट हुनै सकेन । २००२ र २००६ मा चरणबाटै बाहिरियो । सन् २०१० मा छनोट हुन नसके पनि सन् २०१४ मा ब्राजिलमा भएको विशवकपमा उसले क्वाटरफाइनल पुगेर अहिलेसम्मकै उत्कृष्ट नतिजा निकालेको थियो । चार वर्षअघि रुसमा भने उनीहरु समूह चरणबाट माथि जान सकेनन् । हालसम्मको कोस्टरिका र जापानको पटकमात्र आमने सामने भएका छन् । र, दुवै खेल जापानले जितेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ०६ बजे