मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुतुराजले हाने एकै ओभरमा ७ छक्का



१२ मंसिर, काठमाडौं । क्रिकेटलाई कीर्तिमानको खेल त्यसै भनिएको होइन । जहाँ हरेक बल र हरेक विकेटमा कीर्तिमान बनिरहेको छ । क्रिकेटमा कीर्तिमानहरु धेरै बन्छन्, तोडिन्छन् । क्रिकेटमा एक ओभरमा कूल ६ बल हुन्छ । ६ वटै बलमा छक्का हाने पनि जम्मा ३६ रन हुन्छ । तर के एकै ओभरमा ३६ रन मात्र बन्छ त ? तपाईँलाई विश्वास नलाग्न सक्छ । एकै ओभरमा ७ छक्का प्रहार गर्दै भारतीय क्रिकेटर रुतुगाज गायकवाडले नयाँ कीर्तिमान बनाएका छन् । विजय हजारे ट्रफीअन्तर्गत रुतुराजले महाराष्ट्रबाट खेल्दै उत्तर प्रदेशविरुद्ध एकै ओभरमा ७ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका हुन् । विश्व क्रिकेट इतिहासमा ५० ओभरको खेलमा एकै ओभरमा ७ छक्कासहित ४३ रनको दुर्लभ कीर्तिमान बन्दा रुतुराज नायक बने ।

भारतको लिस्ट ए मान्यताप्राप्त एकदिवसीय यस प्रतियोगितामा रुतुराजले ४९औं ओभरमा उत्तर प्रदेशका बलर शिव सिंहलाई लगातार ७ छक्का प्रहार गरेका हुन् । रुतुराजले ७ छक्का प्रहार गर्दै आफ्नो दोहोरो शतक समेत बनाए । उनले १५९ बल खेल्दै १० चौका र १६ छक्का मद्दतमा अविजित २२० रन बनाए । ओपनिङ गर्दै अन्तिमसम्म ब्याटिङ गरेमा रुतुराजले ‘ब्याट क्यारी’ गरे । उनले चौथो विकेटका लागि अंकित काजीसँग १४६ रनको साझेदारी समेत गरे । कप्तानसमेत रहेका रुतुराजले दोहोरो शतक बनाएपछि महाराष्ट्रले ५ विकेट गुमाएर ३३० रन बनाएको छ । ३३१ रनको लक्ष्य पछ्याउँदै उत्तर प्रदेशले ब्याटिङ गरिरहेको छ । रुतुराज गायकवाडले सुरुवाती चार बलमा लगातार छक्का प्रहार गरेका थिए । पाँचौ बलमा पनि उनले छक्का प्रहार गरे तर, त्यो नो बल भयो । त्यसमा महाराष्ट्रले १ रन अतिरिक्त पायो ।

पुनः फालिएको पाँचौ बलमा पनि उनले छक्का हानेपछि ६ छक्का भयो भने एक बल बाँकी नै थियो । अन्तिम बलमा पनि छक्का प्रहार गरेपछि रुतुराजले फेस गरेका ७ वटै बलमा छक्का प्रहार गर्दै ४२ रन बनाऐ । १ रन थपसहित उक्त ओभरमा महाराष्ट्रले ४३ रन जोड्यो । लिस्ट ए क्रिकेटमा एकै ओभरमा ४३ रन बनेको भने यो पहिलो पटक होइन् । रुतुराजको प्रदर्शनले महाराष्ट्रले एकै ओभरमा ४३ रन प्रहार गर्ने कीर्तिमान भने बराबरी गर्‍यो । यसअघि न्युजिल्याण्डको लिस्ट ए मान्यता प्राप्त प्रतियोगिता फोर्ड ट्रफीमा पनि एकै ओभरमा ४३ रन बनेको थियो । नर्दन डिस्ट्रिकका ब्रेट ह्याम्पटन र जोए कार्ट मिलेर सेन्ट्रल डिस्ट्रिक विरुद्ध ४३ रन जोडेका थिए । विलेम लुडिकले बलिङ गरेको उक्त ओभरमा ह्याम्पटन र कार्टर मिलेर ६ छक्का प्रहार १ चौका प्रहार गरेका थिए भने एक सिंगल रन लिएका थिए । उक्त ओभरमा लुडिकले दुई नो बल फालेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ०० बजे