मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेल्जियन स्टार इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास



 

२१ मंसिर, काठमाडौं । बेल्जियमका मिडफिल्डर इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ‘म जीवनको एक पन्ना पल्टाउँदैछु । तपाईँहरुको मायाका लागि धन्यवाद,’ उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईंहरुको अद्वितीय समर्थनका लागि धन्यवाद । सन् २००८ यता हामीले बाँडेका सबै आनन्ददायी क्षणका लागि धन्यवाद । म आज अन्तर्राष्ट्रिय फुटबलरका रुपमा करिअर अन्त्य गर्दैछु । अर्को पुस्ता तयार भइसकेको छ ।’

बेल्जियन पत्रिका हेट लास्टेका निउजका अनुसार ३१ वर्षका हाजार्डले विश्वकप समूह चरणमा क्रोएसियासँगको खेल लगत्तै सन्यास लिनेबारे राष्ट्रिय टिमका साथीहरुसँग कुराकानी गरेका थिए । ६ दिनपछि उनी आफ्नो निर्णयमा अडिग रहे र २७।२ मिलियन फलोअर्स रहेको इन्स्टाग्राममार्फत सन्यासको घोषण गरे ।

बेल्जियनको स्वर्ण पुस्ताका प्रमुख सदस्यका रुपमा हाजार्डले सन् २००८ नोभेम्बर १९ मा लक्जेवर्गसँगको खेलमा १७ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । कतार विश्वकपपछि बेल्जियन टोलीबाट विश्राम लिने निर्णय गरेका उनले बेल्जियमका लागि १२६ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । उनले बेल्जियमका लागि ३३ गोल र ३६ असिस्ट गरेका छन् । इंग्लिस क्लब चेल्सीका लागि खेलिसकेका हाजार्ड अहिले स्पेनिस महारथी रियल मड्रिडमा अनुबन्धित छन् । उनले बेल्जियम टिमका लागि ५६ खेलमा कप्तानी गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ५ : १८ बजे