मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा बिहे भोजले बिरामी परेकामा आउँको किटाणु भेटियो



 

२२ मंसिर , काठमान्डौँ । पाल्पाको चिर्तुङधारामा बिहे भोज खाएर बिरामी परेका धेरैजसोमा आउँ रोगका किटाणु देखिएको छ । मिसन अस्पतालमा उपचार गर्न गएका बिरामीहरूको दिसा जाँच गराउँदा रिपोर्टमा आउँका किटाणु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले बुधबार अधिकांशको रिपोर्टमा आउँको किटाणु देखिएको बताएका हुन् । बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घरघरमा पुगेर उपचार गर्ने क्रममा यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

मंगलबार मिसन अस्पतालका डा। सञ्जीव रावल, बगनासकाली गाउँपालिकाका ११ जना स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतले सेवा दिएका थिए । बुधबार पुन: लुम्बिनी प्रादेशिक अस्पतालका डा। विवेश खनाल, मेडिटेल अस्पतालबाट स्वास्थ्यकर्मीहरू विष्णुप्रसाद पाण्डेय, बैकुण्ठ पौडेल लगायतको टोलीले सघाएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।

बिरामीमध्ये कतिपयलाई सुधार आएपनि केहीमा पुन: समस्या देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका डा। खनालका अनुसार दिसा जाँच गर्दा आउँको किटाणु फेला परेको छ । तीन दिन अघिदेखि स्वास्थ्यकर्मीले बिरामीको उपचारका लागि घरघरमा पुगेर सेवा दिइरहेका छन् । स्लाइन पानी चढाउने, औषधि, जीवनजल वितरण, स्वास्थ्य, सरसफाइसम्बन्धी जानकारी गराइएको चिर्तुङधारा स्वास्थ्यचौकीका प्रमुख नोदप्रसाद बस्यालले बताए । सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले बुधबार बिहानदेखि थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोलबस्तीमा खटिएको उनले बताए । बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय घरपरिवारका १ सय ५० जना तीन दिनयता बिरामी परेका छन् । निम्तो मान्न आएका छिमेकी गाउँ र प्यूठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका थिए । स्वास्थ्य कार्यालयले के खाएर फुड पोइजन भयो भन्ने पत्ता नलागेको र पानी जाँचका लागि नमुना संकलन गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ५३ बजे