मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋण नतिर्ने सदस्यलाई कालो सूचीमा राख्न सहकारी महासंघको माग



 

२३ मंसिर ,काठमान्डौँ । राष्ट्रिय सहकारी महासंघले ऋण लिएर नतिर्ने सदस्यलाई कालोसूचीमा राख्ने व्यवस्था गर्न विभागसँग माग गरेको छ । शुक्रबार महासंघसहितको विषयगत केन्द्रीय संघका प्रतिनिधि तथा सहकारी अभियन्ताहरुले सो माग राख्दै विभागका रजिस्ट्रार रुद्रप्रसाद  पण्डितलाई भेटी ५ बुँदे सुझावपत्र बुझाएका हुन् ।  मुख्यतः अहिलेको असहज परिस्थिति आउनुमा सहकारीले सदस्यहरूमा लगानी गरेको कर्जा नउठ्नु र नयाँ बचत नआउनु नै रहेको महासंघको निष्कर्ष छ । यसका लागि पनि कर्जा लगानी असुलीलाई विशेष प्राथमिकता दिनुपर्ने महासंघको भनाइ छ ।

सहकारीको विग्रँदो साखलाई पुनर्जीवित पार्न पनि कर्जा असुलीलाई प्राथमिकता दिनुपर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका महासंघका सञ्चालक केबी उप्रेतीले बताए । ‘अहिलेको सहकारीको मुख्य समस्याको जड भनेको नै कर्जा लगानी र असुलीको हो । यसलाई कडाईका साथ नियन्त्रण गर्ने हो भने सहकारीको ८० प्रतिशत समस्या समाधान हुन्छ’ उप्रेतीले भने– ‘हामीले त्यसको थालनी गरिसकेका छौं । पहिलो चरणमा सञ्चालक ऋणीबाटै असुलीको अभियान थाल्छौ र क्रमशः साना सदस्य ऋणीमा जान्छौं । तर यसका लागि विभागले सकारात्मक भूमिका खेलिदिनुपर्यो भन्ने हाम्रो माग हो’ उनले भने ।

खासगरी सहकारी सदस्य ऋणीहरूलाई पनि बैंक तथा वित्तीय संस्थाहरूले जस्तै कालोसूचीमा नाम निकाल्ने व्यवस्था गर्नुपर्ने महासंघको माग छ । यसो गर्दा ऋणीहरूमा केही हदसम्म भने पनि त्रास हुने र सहकारीको लगानी फिर्ता हुने बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौडेलको भनाइ छ ।  प्रतिउत्तरमा विभागका रजिस्ट्रार पण्डितले ज्ञापनपत्र बुझ्दै सहकारी क्षेत्रको समस्या निराकरणका गर्दै सबलीकरण गर्न आफू अभियानसँगै लाग्ने बताए । सकारात्मक उर्जाका लागि अहिले नै लाग्न रजिष्ट्रार पण्डितले सबै अभियन्ताहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  २ : १२ बजे