मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोरी हारेपनि शिवपुजनले बनाए श्रीमतीलाई समानुपातिक सांसद



२५ मंसिर, काठमाडौं। माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिक सांसदमा मधेसी महिला कोटाबाट मीना यादवलाई चयन गरेको छ । मीना यादव माओवादी नेता शिवपुजन राय यादवकी श्रीमती हुन् । यादव समानुपातिक सांसदमा चयन भएपछि सर्लाहीका माओवादीका नेता तथा कार्यकर्ताले भन्न थालेका छन्, ‘शिवपुजन जस्तै सबै कहाँ भाग्यशाली हुन्छन् र ।’ हुन पनि सर्लाही ४ नम्बर क्षेत्रमा गठबन्धनको कोटा काँग्रेसको भागमा परेको थियो । तर, शिवपुजनले डाक्टर पढ्दै गरेकी छोरी मधुमाला यादवलाई स्वतन्त्रमा उम्मेदवारी दिन लगाए । माओवादी केन्द्रले शिवपुजनलाई आफ्नो छोरीको उम्मेदवारी फिर्ता लिन निर्देशन दियो तर उनले बरु कारबाही भोग्ने तर उम्मेदवारी फिर्ता नगराउने जवाफ दिएका थिए ।

स्वतन्त्रबाट उम्मेदवार बनेका काँग्रेसका नेता डा अमरेशकुमार सिंहलाई हराउनका लागि छोरीलाई उम्मेदवारी दिन लगाएको जवाफ शिवपुजनले दिएका थिए । तर उनको छोरी मधुमालाले १० हजार भन्दा बढी मत ल्याएर हारिन् । स्वतन्त्र उम्मेदवार सिंहले चुनाव जिते । यसैबीच छोरी मधुमालाले चुनाव हारेपनि शिवपुजनले आफ्ना श्रीमती मीना यादवलाई समानुपातिक सांसद बनाउन सफल भए । २०६४ को पहिलो संविधान सभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका शिवपुजनले २०७० मा पनि महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीबाट आफ्नो भाउजु अमेरिकादेवी यादवलाई संविधान सभा सदस्य बनाएका थिए ।

२०७४ को चुनावमा शिवपुजनले माओवादीबाट सर्लाही ४ बाट उम्मेदवारी दिएका थिए । चुनावको अन्तिम समयमा उनको उम्मेदवारी खारेज भयो । रातो पासपोर्ट काण्ड मुछिएपछि उनको उम्मेदवारी रद्द भएको थियो । त्यो बेला पनि काँग्रेसबाट अमरेश सिंहले चुनाव जितेका थिए । रातो पासपोर्ट बेचेको आरोपका कारण उनी यसपटक पनि उम्मेदवार बन्न नपाएपनि समानुपातिकको बन्द सूचीमा श्रीमती मीना यादवको नाम प्राथमिकतामा राख्न लगाउन सफल भए । उता श्रीमतीको नाम समानुपातिकमा राख्न लगाए, यता छोरीलाई स्वतन्त्रमा उठाए । छोरी हारिन् भने श्रीमतीले सांसदको लोगो लगाउने निश्चित भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : ०१ बजे