काठमान्डौँ। पौष महिनामा हाम्रो सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू मध्ये अधिकांश ग्रहलाई आकाशमा स्पष्ट सँगै खाली आँखाले र केही ग्रहहरूलाई बाइनाकुलर र टेलिस्कोपको सहायताले देख्ने भएको छ । आकाश सफा रहेको अवस्थामा साँझ पख सूर्यास्तसँगै बुध र शुक्र ग्रहहरू दक्षिण पश्चिम दिशामा केही समय अवलोकन गर्न सकिने छ ।
वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका निमित्त कार्यकारी निर्देशक डा. सनत कुमार शर्माका अनुसार यी दुई ग्रहहरू ६:३० बजे सम्ममा क्षितिजमुनि पुगिसक्ने भएकोले सीमित समयको लागि देख्न सकिनेछ । शनि ग्रहलाई सोही दिशामा साँझ ८:३० बजे सम्म अवलोकन गर्न सकिनेछ । वृहस्पति ग्रहलाई भने स्पष्ट र चम्किलो रूपमा पूर्व दक्षिणबाट मध्य राती सम्म देख्न सकिनेछ भने मङ्गल ग्रह भने पूर्व उत्तर देखि पश्चिममा साँझ देखि बिहान सम्म अवलोकन गर्न सकिनेछ ।
यसका साथ साथै औँसी पश्चात् चन्द्रमा पनि अर्ध चन्द्रकार स्वरूपबाट पूर्ण चन्द्रमा सम्मको दृश्यमा ग्रहहरूको अघि पछि पछ्याइरहेको मनोरम दृश्य देख्न सकिन्छ । यी ग्रहहरू पङ्क्तिबद्ध रहेता पनि यिनीहरूको चित्र एकैसाथ लिन अति कठिन रहनेछ । बुध, शुत्र, शनि वृहस्पति र मङ्गल ग्रहलाई खाली आँखाले सजिलै सँग अवलोकन गर्न सकिनेछ भने बाइनाकुलर र टेलिस्कोपको सहायताले शनि र वृहस्पति ग्रहको बीचमा बरुण ग्रह तथा वृहस्पति र मङ्गल ग्रहको बीचमा अरुण ग्रहलाई पनि अवलोकन गर्न सकिनेछ । काठमाडौँबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्त पश्चात् एजिम्यूथकोण ७ ० डिग्री देखि २४ ० डिग्री र उचाईकोण १० डिग्री देखि ६० डिग्रीमा यी ग्रहहरूलाई खाली आँखाले अवलोकन गर्न सकिनेछ ।
प्रतिक्रिया