मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानमा एकल महिलाको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामा पठाउने आदेश



 

१४ पुस, काठमान्डौँ । समूहमा आएका महिलाहरुको कुटपिटपछि घाइते भई मृत्यु भएकी धरान १३ की एकल महिला उषा राईको हत्या मुद्दामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आरोपित एक जना भने धरौटीमा छुटेका छन् । न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश गरेको हो । अदालतले आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।

अदालतको आदेशअनुसार ३ जनालाई कोभिड परीक्षणपछि झुम्का कारागारमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । घटनाका फरार रहेको भनिएका आरोपित निरकुमारी गुरुङ, सिर्जना राई र मिना राईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । पीडितले दिएको जाहेरीमा उल्लेख भएकी मिना राईलाई प्रहरीले अझै पहिचान गर्न सकेको छैन ।

मुख्य आरोपी उर्मिलाले आफ्नो श्रीमानसँग नजिकिएको आशंकामा आफन्त र छरछिमेकी महिलाहरुसहित पुगेर कात्तिक ३ गते उषा राईलाई कुटेकी थिइन् । कुटपिटबाट घाइते भएकी उषाको उपचारकै क्रममा मंसिर १३ गते मृत्यु भएको थियो । कुटपिटबाटै उषाको मृत्यु भएको भन्दै मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका थिए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  २ : ४१ बजे