मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक व्यक्तित्वका सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि धमाधम फिर्ता




१५ पुस, काठमाडौं। कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रुपमा खटिएका सुरक्षा अधिकारिहरु फिर्ता भएका हुन् । गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । बिहिबार साँझसम्म नेपाल प्रहरीका १०३ जना प्रहरी कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले बताए ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय र बलम्बु स्थित नौ नम्बर बाहिनीबाट खटिएका ८५ जना सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयका एकजना अधिकृतले बताए । गृहले पूर्व कर्मचारी र पूर्व सुरक्षाकर्मीले सहयोगीको रुपमा राखेका सुरक्षाकर्मी मात्र फिर्ता गर्ने आशयको पत्र दुवै संगठनलाई पठाएको थियो । तर, सुरक्षा निकायले राजनीतिक व्यक्तित्वहरुले लिएको सुरक्षाकर्मी पनि फिर्ता बोलाएका छन् । ‘मापदण्ड विपरीत परिचालित पूर्व मन्त्री र राज्यमन्त्रीहरूका पीएसओ तानेका छौं’ नेपाल प्रहरीका एकजना उच्च अधिकृतले भने–‘कार्यबिधि मिचेर परिचालित सुरक्षाकर्मीलाई क्रमशः फिर्ता बोलाउँछौं ।’

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यबिधि–२०७७ अनुसार पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पीएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पीएसओ पाउने व्यवस्था छ ।पूर्व सुरक्षाकर्मीहरु मध्येमा एआईजी र डीआईजीहरुले पाउँदै आएको सुरक्षा नयाँ कार्यविधिमा हटाइएको छ । सुरक्षा हटाएकोमा पूर्व एआईजी र डीआईजीहरुले विरोध गर्दै आएका छन् । पूर्व प्रहरी महानिरीक्षकले ४ वर्षसम्म ५ जना र त्यसपछि आजीवन २ जना सहयोगी पाउने व्यवस्था कार्यविधिमा छ । पूर्व कर्मचारी, पूर्व सुरक्षाकर्मी र विशिष्ट व्यक्तिहरूको सुरक्षामा नेपाल प्रहरीबाट मात्रै ६६१ जना प्रहरी कर्मचारी खटिएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ५९ बजे