मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ देखि



 

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ गतेदेखि सुरु हुने भएको छ । प्रतिस्पर्धामा भाग लिन इच्छुकले माघ १६ गतेसम्म अडिसन दिनसक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिए । सहभागी हुन चाहनेले पे वेल एप डाउनलोड गरेर भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाइ ५ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ । भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराइनेछ ।

चैत दोस्रो सातादेखि टेलिभिजनमा प्रसारण हुने शोमा यसपटक गेष्ट अपिरियन्सलाई वृद्धि गर्ने लक्ष्य छ । ‘दर्शकको सुझावको आधारमा पाहुनाको संख्या बढाउने लक्ष्य छ,’ भण्डारीले अनलाइनखबरसँग भने । जजमा चाहिं सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई यथावत् नै हुनेछन् । केकी अधिकारी र रीमा विश्वकर्मा कार्यकारी निर्माता रहने शोमा विशाल भण्डारी, विकास भण्डारी, हिरण बस्नेत र सगुन पाण्डे निर्माता हुनेछन् ।

‘कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए । यो सिजनसँगै निर्देशक भण्डारी एक फिचर फिल्म निर्माणको तयारीमा जुटेका छन् । ‘पटकथा लेखन हुँदैछ । नाम निधो छैन । लगत्तै हामी फिल्म निर्माणमा पनि जुटेका छौं,’ भण्डारीले भने ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : ५२ बजे