मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा थारू समुदायमा माघीको चहलपहल



 

१७ पुस, काठमान्डौँ। माघेसङ्क्रान्ति अर्थात् थारु जातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ । थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । थारु बस्तीमा खानपिन र नाचगानको तयारी भइरहेको घोराही उपमहानगरपालिका–१७ पचुर्खाका विष्णु चौधरीले बताए । माघी नजिकिएसँगै थारु समुदाय काममा जुटेका छन् । माघीपर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि तयारी भइरहेको छ ।गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको उनले बताए । ढिक्री पकाउने, अनदीको विशेष झोल (जाँड), अनदीको रोटी, भातलगायत विशेष मिठामिठा परिकारको जोहो गर्ने चलन छ ।

थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली) का रुपमा चेलीबेटीका घरमा पुर्‍याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । माछासँगै गँगटा र घोङ्गीको विशेष परिकार बनाएर खाने गरिन्छ। माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको थारु अगुवा पूर्ण चौधरी बताउँछन्। ‘थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा पनि लिने गरिन्छ, पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ, माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायतका अन्य व्यवहारको नवीकरण गरिन्छ’, चौधरीले भने । माघलाई विभिन्न ठाउँका थारु समुदायले आआफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारु समुदायका अधिकांश छोरीहरू कमलरी थिए । उनीहरू माघीका दिनमा मात्रै छुट्टी पाउँथे त्यसैले यसलाई उनीहरूले मुक्ति दिवसका रुपमा मनाउने गरेको मुक्त कमलरी विकास मञ्चका केन्दीय अध्यक्ष हिरा चौधरी बताउँछन् । माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम सुरु भएको घोराही –१७ कर्जाहीका राजकुमारी चौधरी बताउँछन् ।

‘ढिक्री, रोटी, माछा र घोङ्गीको परिकार बनाउँदै छौँ, माघीको सम्पूर्ण तयारी भइरहेको छ’, उनले भने, ‘खानाको परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्ने हुन्छ, घर बाहिर भएका मानिस घरमा आउँछन्, गाउँमा छुट्टै चहलपहल र भेटघाट हुने भएकाले रमाइलो हुन्छ, कर्जाही थारु समुदायको बाक्लो बस्ती भएको ठाउँ हो, अन्य खेतीपातीका काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबाबा, दाजुभाई दिदीबहिनी जुटेका छन्।’ थारु समुदायले माघमै आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरुपमा लिइँदै आएको महेन्द्र मावि धर्नाका शिक्षक घोराही–६ का भीमबहादुर चौधरी बताउँछन् । उनले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि महत्वपूर्ण रहेको बताए । उनले माघमा नाचगान, खानपिनलाई विशेष महत्वका साथ हेर्ने गरेको बताए । ‘पुसको २५ देखि माघको ५ गतेसम्म गाउँघरमा मघौटा नाच हुने गर्दछ, त्यसको तयारी एक महिनाअघिदेखि गरिन्छ’, उनले भने ।थारु कल्याणकारिणीसभा दाङको आयोजनामा यही पुस २२ र २३ गते जिल्ला समन्वय समिति घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तीव्र बनाइएको थारु कल्याणकारीसभा दाङका सभापति भुवन चौधरीले जानकारी दिए । ‘आर्थिक जागरण व, सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्यायसहितको समृद्धिम हमार योगदान’ भन्ने नारासहित आयोजनामा हुन गइरहेको महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न स्वंयसेवक परिचालन कमिटी गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिको आयोजनामा घोराहीमा भएको युवाको भेलाले थारु कल्याणकारिणीसभा दाङका सदस्य अशोक चौधरीको संयोजकत्वमा एक सय २१ सदस्यीय स्वयंसेवक परिचालन समिति गठन गरिएको चौधरीले जानकारी दिए । यसैगरी ११ स्वयंसेवक परिचालन उपसमिति र महोत्सव प्रचारप्रसार समिति गठन गरिएको छ । अन्य महोत्सवभन्दा पृथक र नयाँपन दिनुपर्ने भएकाले यो फरक भएको अध्यक्ष चौधरीले बताए।उनले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमार्फत घोराहीमा थारु समुदायको सशक्त उपस्थिति रहने बताए । महोत्सवस्थल जिल्ला समन्वय समितिको प्राङ्गण सरसफाइ गरेर कक्ष राख्नका लागि तयारी गरिएको छ । दुई दिने महोत्सवमा मघौटा, छोक्रा, हुडुङ्यालगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । यस्तै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौँ थारु भाषाका पुस्तक प्रदर्शनीका लागि राखिने उनले बताए । यस्तै थारु परिकार ढिक्री, घोङ्गी, माछा, गँगटालगायत परिकारसमेत बिक्री वितरणका लागि राखिनेछ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ३० बजे