मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजारको समस्याले कपिलवस्तुका उखु किसान चिन्तित



 

 

२७, पुष, काठमान्डौँ। पायक पर्ने स्थानमा चिनी मिल नहुँदा कपिलवस्तुका उखु किसान समस्यामा परेका छन् । यहाँको श्री महालक्ष्मी सुगर मिल सर्लाही जिल्लामा स्थानान्तरण भएपछि उखु किसानहरूलाई असहज भएको हो ।  सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सखर) उद्योगले लिएका छन् । सखर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि उखु किसानले आफूहरू मारमा परेको भन्दै सरोकारवाला गुहार्न थालेका छन् । उखु बेच्ने यो समयमा सरकारले समर्थन मूल्य समेत तोक्न सकेको छैन । सरकारले मूल्य तोक्न नसक्दा किसानलाई उखु बेच्न झनै समस्या भएको छ । सरकारले उखुको मूल्य तोक्न नसकेको र सखर उद्योगले मनपरी मूल्य लिइरहेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए । जिल्लामा रहेका ७५ सखर उद्योगले मनपरी ढङ्गबाट उखुको मूल्य दिएको अध्यक्ष चौधरीले गुनासो गरे ।

चौधरीले भने, ‘उखु खेतीबाटै जीविकोपार्जन गर्दै आएका किसान चिनी मिल विस्थापित भएपछि समस्यामा परेका छन् । सखर उद्योगले मनपरी मूल्य तोक्दा उखु किसान विस्थापित हुने अवस्था सिर्जना भएको छ ।’ सरकारलाई उखुको मूल्य प्रतिक्विन्टल रु। सात सय पाँच तोक्न माग गरेको र त्यो मागको सुनुवाइ अहिलेसम्म नभएको अध्यक्ष चौधरी बताउँछन् ।

उखुको मूल्य निर्धारणका लागि कृषि मन्त्रालय पुगेको त सरकारले यो विषयमा कुनै निर्णय नलिएको चौधरीले बताए ।उखु किसानले साढे तीन सयदेखि चार सय पचाससम्ममा बिक्री गर्दै आएका छन् । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन सखर उद्योगले प्रतिक्विन्टल रु चार सय नब्बेमा उखु खरिद गरिरहेको छ । उखु बिक्री गर्न बजारको समस्या भएपछि केही किसानले सखर उद्योगमा भेली बनाउन दिएका छन् भने कतिपय आफैले सखर उद्योग स्थापना गरी भेली बनाउन थालेका छन् । सरकारले मूल्य नतोक्दा उखु बेच्न समस्या भएको किसान रामप्रकाश चौधरीले बताए । जिल्लाको पश्चिम–दक्षिण सुक्खा क्षेत्रमा अधिकांश किसानले व्यावसायिक रूपमा उखु खेती गर्दै आएका छन् । जिल्लाको कृष्णनगर, महाराजगन्ज र शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिकामा व्यावसायिक उखु खेती गरिन्छ ।

 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  २ : १६ बजे