मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति निकटस्थ राईलाई परराष्ट्रमन्त्री बनाउँदै एमाले




३ माघ, काठमाडौं
। नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारी निकटस्थ मानिने राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्याललाई परराष्ट्र मन्त्री बनाउने भएको छ । यसअघि राष्ट्रपति भण्डारीको सचिवालयमा समेत रहेर काम गरेकी राई त्यसअघि योजना आयोगको सदस्य समेत भएकी थिइन् । पञ्चायतकालमा अनेरास्ववियुमा आबद्ध राई पछिल्लो समय पार्टी राजनीतिमा भने खासै सक्रिय छैनन् ।

गैर सरकारी संस्था आइएनजीओमा समेत काम गरेकी राई तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा २०७४ मा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी हुन् । नेदरल्याण्डको इन्स्टिच्युट फर सोसल स्टडीजबाट विकास अध्ययनमा विद्यावारिधि गरेकी पौडेलले संयुक्त अधिराज्यको म्यानचेस्टर युनिभर्सिटीबाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गरेकी छन् ।

साथै त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक तह पूरा गरेकी पौड्याल कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विकास अध्ययन विषय अध्यापन गराएकी छिन्। नेपालका विभिन्न सरकारी निकाय लगायत, वहुपक्षीय आर्थिक सहायता निकाय र गैर–सरकारी संस्थाहरूमा काम गरिसकेकी पौड्याल सन् २०१५ मा गएको भूकम्प पश्चात् नेपालको विपद् पछिको आवश्यकता अध्ययन लैङ्गिक समानता, सामाजिक समावेशिता र संरक्षण तथा विधागत टोलीको प्रमुख भई काम गरेकी थिइन् ।

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ११ : १५ बजे